
काठमाडौँ : प्युठान प्रहरीले विभिन्न मुद्दामा कैद सजाय तथा जरिवाना पाएर लामो समयदेखि फरार रहेका प्रतिवादीलाई धमाधम पक्राउ गर्न थालेको छ । डीएसपी दिपेश बस्यालले प्युठान जिल्लाको नेतृत्व सम्हालेसँगै एकपछि अर्को गर्दै फरार प्रतिवादी पक्राउ पर्न थालेका छन् ।
डीएसपी बस्यालले गत असोज १७ गते प्युठान प्रहरीको कमाण्ड सम्हालेका थिए । यो तीन महिनामा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट विभिन्न मुद्दामा दोषी ठहर भएर फरार रहेका २१ जनालाई पक्राउ गरेको छ । डीएसपी बस्यालका अनुसार सबैभन्दा धेरै जबरजस्ती करनि मुद्दाका १३ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
जिल्लामा फरार प्रतिवादीलाई पक्राउ गर्न विशेष सक्रियता बढाएको डिएसपी बस्यालले बताएका छन् । विभिन्न आपराधिक घटनामा संलग्न भएर अदालतबाट दोषी ठहर भइसक्दासम्म फरार रहेकालाई पक्राउ गर्न प्रहरीले सक्रियता बढाएको उहाँको भनाइ छ ।
उहाँले फरार प्रतिवादीको खोजीलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो । पहिले धरौटीमा छुटेपनि अदालतले अन्तिम फैसला गरेपछि प्रतिवादीहरु सम्पर्कमा नआइ लुकीछिपी बस्ने गरेको प्रहरीको भनाइ छ ।“जतिसुकै सानो भएपनि तोकिएको सजाय भोग्नैपर्छ, फरार प्रतिवादी आफै अदालतमा हाजिर भए प्रहरीले पक्रनै पर्दैन”, डिएसपी बस्यालले भन्नुभयो । न्यूनतम जरिवानादेखि कैद सजायसम्म पाएकाहरु पक्राउ पर्ने गरेका छन् ।
“कैद तथा जरिवाना भुक्तान नगरिकन भागिरहेकालाई धमाधम पक्राउ गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “अपराधमा संलग्न भएर फरार हुनेलाई गोप्य सूचनाका आधारमा पक्राउ गरेर कानुनको दायरामा ल्याई पीडितलाई न्यायको अनुभूति दिलाउँछौँ ।” डिएसपी दिपेश बस्यालले बताए ।