
वीरगन्ज । ११ महिना अगाडीदेखि पर्सा प्रहरीको कमाण्ड सम्हाल्दै आएका पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुंगेल पर्साबाट काठमाडौंको लागी बिदा भएका छन् । आक्रामक पुलिसिङको माध्यमबाट तस्करी नियन्त्रण र अपराधविरुद्ध शून्य सहनशीलताको नीति अपनाउदै पर्साबासी जनताको मन जित्न सफल भएका ढुङ्गेल आज पर्साबाट बिदा भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्सा वीरगन्जमा आज आयोजित बिदाई कार्यक्रममा बोल्दै एसपी ढुंगेलले पर्साबासी सम्पुर्ण बासिन्दा, नागरिक समाज, राजनितिक दल, मिडियाकर्मी तथा सहकर्मी प्रहरी कर्मचारीलाई धन्यवाद दिएका थिए ।
एसपी कुमोद ढुंगेल अपराध अनुसन्धान र कमाण्ड कन्ट्रोलमा अब्बल अधिकृतको रुपमा परिचित छन् । यो परिचय उनको नामले होइन, कामका परिणामले समेत प्रस्ट पारिसकेको छ । पर्साको प्रहरी प्रमुखको ११ महिने कार्यकालमा नै उनले देखाएको कामको परिणामले यसको पुष्टि गर्छ ।
पर्सा प्रहरी भित्र पनि ब्यापक सुधार ल्याएका एसपी ढुङ्गेलले हरेक महिना प्रहरी कर्मचारीसँग मासिक बैठक गरी अन्तरक्रिया कार्यक्रम समेत गरेको र जिल्लामा शान्ति सुरक्षाको अनुभूती दिलाउनका लागि प्रहरी अधिकृतहरूलाई निर्देशन दिने गरेका थिए ।