
काठमाडौं । काठमाडौँ जिल्ला प्रहरी परिसर प्रमुखको जिम्मेवारी सम्हालेसँगै एसएसपी विश्व अधिकारीले अदालतको फैसला कार्यान्वयनका लागि फरार प्रतिवादीलाई पक्राउ गर्ने विशेष अभियान नै चलाएका छन् ।
सोहीक्रममा काठमाडौँ प्रहरीले ९ दिनको अवधिमा २५० जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ । काठमाडौँ जिल्ला परिसर प्रहरी प्रमुख रुपमा प्रहरी एसएसपी विश्व अधिकारीले कमाण्ड सम्हालेयता २५० जना फरार प्रतिवादी पक्राउ परेका हुन् ।
कुनै अपराधमा संलग्न भएर पक्राउ नपरेका व्यक्तिहरु सहर – बजार तथा गाउँघरमा लुकिछिपी बसेको भए तत्काल जानकारी दिन एसएसपी विश्व अधिकारीले सबै काठमाडौँ बासी तथा आम नागरिकहरूमा अनुरोध समेत गरेका छन् ।
‘अपराध गरेर फरार बनेका व्यक्तिका बारेमा सूचना दिनेको परिचय गोप्य राखिने छ,’ एसएसपीले भने, ‘प्रतिवादीलाई भने पक्राउ गरेर कानूनको दायरामा ल्याइने छ।’ उनले फरार प्रतिवादीहरुलाई पक्राउ गर्दा सामाजमा सकारात्मक सन्देश जानुको साथै फैसला कार्यान्वयनमा समेत सघाउ पुग्ने बताए ।
पक्राउ परेका प्रतिवादीहरु जालसाजी, जुवा, सम्बन्धविच्छेद, सार्वजनिक अपराध, किर्ते, लागूऔषध, चेक अनादर, चोरी, गाली बेइज्जतीलगायत मुद्दाका रहेको एसएसपीले बताए ।
कैद सजाय तथा जरिवाना असुल गर्नका लागि अदालतले फरार प्रतिवादीको सूची प्रहरी कार्यालयमा पठाउने गर्छ । सोही आधारमा फरार प्रतिवादी खोजेर प्रहरीले अदालतमा उपस्थित गराउँछ ।
कानुन कार्यान्वयन गर्ने निकाय प्रहरीको सक्रियता र तदारुकताले नै समाजमा पीडितमैत्री वातावरण निर्माण हुने उनको बुझाइ छ । समाजमा पीडक खुलेआम हुने र पीडित झन् तनावमा पर्नुपर्ने अवस्था आउन नदिन प्रहरीको सक्रियता बढाइएको उनले बताए ।
काम र एक्सनमा बिश्वास गर्ने उनी प्रचार-प्रसार र मिडियामा भने कमै मात्रमा छाउँछन् । प्रचार-प्रसारमा भन्दा बढी काम गर्न रुचाउने एसएसपी विश्व अधिकारी प्रहरी संगठनमा जवानदेखि अधिकृतसम्मलाई एउटै व्यवहार गर्छन् । जसले गर्दा काम गर्ने प्रहरी जवानहरुको मनोबल उच्च राख्नेछ ।
अपराध अनुसन्धानमा दख्खल राख्ने उनी प्रहरी संगठन र नेतृत्वको कुरामा सधैं अडिग रहन्छन् । छिट्टै अरुलाई विश्वास गर्ने उनी शालिन र भद्र स्वभावका प्रहरी अधिकृत हुन् ।