१३ पुष काठमाडौ । झापाका भीमबहादुर बस्नेतले जीवनको सात दशकको यात्रामा अनेकन हण्डर ठक्कर व्यहोर्नुभयो ।
जीवन व्यवहार सिक्नुभयो । तर, कहिल्यै निराश भने हुनु परेन । पाँच भाइ छोरा जन्मँदा उहाँलाई संसारकै सबैभन्दा बढी खुशी मिलेको थियो । किनकि, प्रकृतिको वरदानरुपी सन्तान कुनचाहिँ बाबुलाई घटीबढी लाग्ला र रु
आफूलाई भन्दा बढी माया गरेको छोराहरू सामन्ती सत्ताले बेपत्ता पारिदिँदा कुन बाबु चैनले निदाउन सक्ला र रु भीमबहादुरलाई पनि यस्तै भएको थियो । माइलो पुष्पराज र कान्छो धीरेन्द्र बस्नेत विसं २०६० मङ्सिरदेखि बेपत्ता छन् ।
न त लाश देखियो, न तिनको सास नै भेटियो । सत्ताका विरुद्ध आवाज उठाएकै कारण, राज्यका विरुद्ध विद्रोहको झण्डा बोकेकै कारण बेपत्ता पारिएका छोराहरूले रोजेको बाटो अँगाल्न एउटा बाबु अभिशप्त भयो ।
तत्कालीन शाही सेनाको भैरवनाथ गणबाट बेपत्ता भएका छोराको पदचाप पछ्याउँदै जाँदा भीमबहादुरलाई दह्रो हृदय भएको बाबु बनाइदियो । छोराको खोजीमा काठमाडौँका सडक नाघ्दा आइपरेको हैरानी अझै भुल्नुभएको छैन उहाँले ।
तत्कालीन शाही सेनाको ब्यारेकदेखि मानवअधिकार आयोगसम्मको म्यारथुन दौड धेरै पुरानो भएको छैन । विस्तृत शान्ति सम्झौता भएको पनि लामो समय भयो । तर भैरवनाथ गणबाट हराएका छोरा फर्केर आएका छैनन् अझै ।
सम्झौतामा ६० दिनभित्र पुष्पराज र धीरेन्द्रजस्तै बेपत्ता छोराछोरीको अवस्था पत्ता लगाउने उल्लेख भए पनि त्यो दिन कहिल्यै आएन । राजनीतिक व्यवस्था बदलियो, तर अवस्था भने बदलिएन ।
न त पुष्पराजले बा भन्दै बोलाउँदै आउनुभयो । न कान्छा धीरेन्द्र मुस्कुराउँदै आउनुभयो । २७ महिना बेपत्ता भएको वीरेन्द्र फर्केर आउनुभयो । यातना, पीडा र ज्यादति भोगेर नाफाको जिन्दगी लिएर वीरेन्द्र फर्केजस्तै दुई भाइ पनि आउलान् कि भन्ने झिनो आश छ अझै पनि उहाँलाई ।
एउटा बाबु, अझै पनि छोरो फर्केर आउँछ कि भन्ने कल्पनामा बसिरहेको छ । छोरो त फर्केर आएन आएन । तर छोराले बोकेको विचार कसरी छाड्न सक्थ्यो र एउटा बाबुले । उहाँ लगातार लागिपरिहेकै हुनुहुन्छ । किनकी सन्तानको मायाभन्दा ठूलो संसारका अरु कुनै माया छैन ।








