३२ जेठ , काठमाडौ । नेकपा (एकीकृत समाजवादी)ले आसन्न दसौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि हुन कम्तीमा ३ वर्ष पार्टी सदस्य भएको हुनुपर्ने योग्यता तोकेको छ । जबकि पार्टी गठन भएको जम्मा ३३ महिना मात्र भएको छ ।
२०७८ साल भदौमा एमालेबाट विद्रोहपछि गठन भएको नेकपा एकीकृत समाजवादीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा दसौँ महाधिवेशन गर्दैछ । महाधिवेशनमा भाग लिने प्रतिनिधि छनोटबारे ३ वर्षे पार्टी सदस्यता अनिवार्य गर्नुपर्ने प्रस्ताव सङ्गठन विभाग प्रमुख समेत रहेका उपाध्यक्ष डा। बेदुराम भुसालले प्रस्ताव गरेका हुन् ।
उनको यो प्रस्तावमा सचिवालय बैठकमा छलफल हुँदा एक जना पदाधिकारीले मात्र विरोध गरेका थिए ।
‘विरोध हुँदाहुँदैपनि त्यही प्रस्ताव पास भयो । तर यो सरासर गलत र नयाँ सदस्यमाथिको ठुलो अन्याय हो’, एकीकृत समाजवादीका एक सचिवालय सदस्यले भने, ‘झन्डै एक लाख नयाँ पार्टी सदस्यमाथिको अपमान पनि हो ।’ यो व्यवस्थाअनुसार पार्टीमा हाल रहेका कतिपय नेता कार्यकर्ता एमाले फुटेर आएका हुनाले एमालेकै पार्टी सदस्यता गणना हुनेछ । यदि एमालेबाहेकबाट एकीकृत समाजवादी प्रवेश गरेकाको हकमा पनि पुरानो पार्टीको सदस्यता नै लागू हुने अवस्था देखिएको छ । तर, आधाभन्दा बढी पार्टी सदस्य नयाँ भएको दाबी गरिएकाले उनीहरूको हकमा चाहिँ के हुने भन्नेमा विवाद देखिएको ती नेताको भनाइ छ ।
ती नेताका अनुसार प्रतिनिधि हुन राखिएको ३ वर्षे प्रावधानले नयाँ पार्टी भनेर जोडिएका इमानदार र ऊर्जाशील सदस्यहरूको मनोबल घट्ने देखिन्छ ।
एकीकृत समाजवादीले देशभर देशभर संगठित सदस्यको सङ्ख्या एक लाख ४६ हजार ७१७ जना रहेको उल्लेख गरेको छ । तिनै सदस्यहरूबाट १७ सय ७८ जना महाधिवेशन प्रतिनिधि छनोट हुनेछन् । जसले महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने अवसर पाउनुका साथै आफू पनि केन्द्रीय कमिटीमा आउन पाउनेछन् ।


