२० माघ , काठमाडौं । इलामको कन्याममा सार्वजनिक जग्गा मासेर खनिएको सडक बन्द गरिएको छ । नेपाल चिया विकास निगमको जग्गा अतिक्रमण गरेर निजी जग्गामा जाने बाटो खनिएपछि सूर्योदयको युवाले सो सडक पुरेर बन्द गरेका हुन् ।
सडक खनेपछि आन्दोलित युवाहरुले केही दिनअघि सडक पुर्नुपर्ने मागसहित सूर्योदय नगरपालिकाको ध्यानाकर्षण गराएका थिए । व्यक्तिगत प्रयोजनका लागि सरकारी जग्गामा रहेको ऐतिहासिक चिया बगान मासिएको भन्दै युवाले सडक पुर्न मागसहित नगरपालिकाको ध्यानाकर्षण गराएका थिए ।
सूर्योदय नगरपालिका–७ को कन्याममा केही दिनअघि निजी जमिनमा जाने सडक खन्दा चिया निगमको केही जमिन समेत अतिक्रमण भएको थियो । अतिक्रमण गरेर सडक निर्माण गरिएको भन्दै स्थानीय युवाले गत माघ ११ गते नगर प्रमुख रणबहादुर राईको ध्यानाकर्षण गराएको स्थानीयवासी युवराज बस्नेतले बताए ।
कन्याम चिया बगानका व्यवस्थापक सचिन सुब्बाको नेतृत्वमा सूर्योदयका करिब ५० युवाले जेसिबी प्रयोग गरे सडक बन्द गराएका हुन् । कन्याम चिया बगानका व्यवस्थापक सुब्बाले आफूहरुलाई कुनै जानकारी नदिइ सडक निर्माण गरिएकाले सडक बन्द गरिएको बताए ।






