Comments Add Comment

Advertisment

SKIP THIS

घोराहीमा फोहोरबाट दैनिक ३०० घनमिटर ग्यास उत्पादन हुने

९ फागुन, काठमाण्डौं । घोराही उपमहानगरपालिका–१६ करौतीडाँडामा फोहोरबाट ग्यास उत्पादन गर्न सुरुआत गरिएको छ । नेपाल ऊर्जा विकास कम्पनी प्रालिद्वारा सञ्चालित सो प्लान्टबाट अहिले दैनिक ३०० घनमिटर ग्यास उत्पादन हुने गरेको छ ।

प्लान्ट व्यवस्थापक हरिशरण श्रेष्ठले भने, ‘अहिले फोहर कम राखिएको छ । यसले गर्दा ग्यास उत्पादन कम भएको हो । केही समयपछि फोहर धेरै राखेर उत्पादनलाई वृद्धि गरिने छ ।’ प्वान्टमा उपमहानगरपालिकाबाट उठ्ने फोहर मात्र प्रयोग गरिएको छ । उनका अनुसार उत्पादन भएको ग्यास पाइपलाइनमार्फत घर घरसम्म पुर्याउने योजना छ । यसका लागि पाइप विस्तारको काम सुरु गरिने जनाइएको छ ।  पाइपमार्फत ग्यास प्रयोग गरेबापत उपभोक्ताले मिटरअनुसार रकम तिर्नुपर्नेछ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, नेपाल ऊर्जा विकास कम्पनी प्रालि र उपमहानगरपालिका बीचको त्रिपक्षीय सहकार्यमा फोहोरबाट ग्यास उत्पादन गर्न थालिएको व्यवस्थापक श्रेष्ठले बताए ।  त्रिपक्षीय सम्झौता २०७५ मङ्सिर ५ गते भएको थियो । ग्यास उत्पादन गर्नका लागि पहिले करिब रु २० करोड लगानी लाग्ने भनिएको थियो तर पाइपमार्फत घर घरसम्म ग्यास पुयाउनुपर्ने भएपछि करिब रु २२ करोड लाग्ने उनले जानकारी दिए ।

फोहोरबाट ग्याससँगै कम्पोष्ट मलसमेत उत्पादन गरिने उनले बताए । कम्पनी र उपमहानगरपालिका बीच २० वर्षको सम्झौता गरिएको छ । सम्झौताअनुसार २० वर्षपछि संरचनासहित सबै पूर्वाधार घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गरिने भएको छ । २० वर्षसम्मका लागि कम्पनीले नगरपालिकालाई पाँच प्रतिशत रकम दिने सहमति भएको छ ।

उपमहानगरपालिकालाई प्लाष्टिकमुक्त बनाउने अभियानअन्तर्गत यो कार्यक्रम अघि सारिएको हो । उपमहानगरपालिकाले प्लाष्टिकको बोतलसहित नरम पोलिथिन एक किलोलाई रु दश, कपडा प्रतिकिलो रु पाँच, सुर्तीजन्य प्लाष्टिकको फोहोर प्रतिकिलो रु दुई, कापीसहित वर्गीकरण अनुसारका फोहोरलाई रु दशदेखि बीससम्ममा किलोमा खरिद गर्ने दर कायम गरिएको छ । यसरी खरिद गरिएको गल्ने फोहोरलाई बायोग्यासमा प्रयोग गरिने र नगल्ने फोहोरलाई उद्योगसँग समन्वय गरेर बिक्री गरिने उपमहानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै