Comments Add Comment

Advertisment

SKIP THIS

खेलकुद क्षेत्रलाई उद्योगको रुपमा विकास गर्न खेलकुद मन्त्री गहतराजको प्रस्ताव

१३ फागुन , काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराजले खेलकुद क्षेत्रलाई उद्योगको रुपमा विकास गर्न सार्वजनिक रुपमा प्रस्ताव राखेका छन् । नेपाल क्रिकेट संघको वार्षिक साधारण सभा उद्घाटन गर्दै शुक्रबार मन्त्री गहतराजले न्यून बजेट छुट्याउँदा पूर्वाधार र प्रतियोगितामा असर परेकाले अब खेलकुदलाई उद्योगको रूपमा विकास गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।

‘राज्यले खेलकुदमा अत्यन्त न्यून बजेट छुट्याउँदा पूर्वाधार र प्रतियोगितामा असर परेको छ । त्यसैले अब खेलकुदलाई उद्योगको रूपमा विकास गर्नुपर्छ,’ उनले भने । क्रिकेट क्षेत्रको विकासमा आम अपेक्षा पूरा गर्न संघ सफल हुने विश्वास व्यक्त गर्दै उनले खेल क्षेत्रमा विगतमा राजनीतिकरण हुने प्रचलन बिस्तारै कम हुँदै गएको दाबी गरे ।

नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले ’नेपाली क्रिकेटलाई स्थापित गर्न संघले निकै ठुलो सङ्घर्ष गर्दै आइरहेको बताए । सरकारी स्तरमा नै क्रिकेटप्रति लगानी कम हुँदै गएको अनुभूति गरेको भन्दै उनले क्रिकेटमा अनुशासन कायम गर्न, पारदर्शी रूपमा काम अघि बढाउन वर्तमान कार्यसमिति कटिबद्ध रहेको दाबी गरे । नेपाल टी–२० लिग सञ्चालन गर्दै क्रिकेटलाई व्यावसायिक बाटोमा अघि बढाउने उनले बताए ।

कार्यक्रममा सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष हरि रेग्मी, पूर्व उपाध्यक्ष एवम् सल्लाहकार नरेश श्रेष्ठ, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक बहादुर सिंह, युवा तथा खेलकुद मन्त्रालयका सचिव दामोदर रेग्मीले शुभकामना मन्तव्य दिएका थिए ।

नेपाल क्रिकेट संघका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment