१४ चैत , काठमाडौं । बेनी गाउँको पुछारबाट पहिरो जान थालेपछि बेनी नगरपालिका–१० पात्लेखेत गाउँका स्थानीयवासी उठीबासको त्रासमा छन् ।
वर्षौंदेखि जान थालेको बान्द्रेखाल्टी पहिरो र दुई वर्षअघिदेखि जान थालेको पाखेपहिरोले सिंगो गाउँ नै पहिरोको जोखिममा परेको हो । धाँजा फाटेर पहिरो बस्तीतर्फ आउन थालेपछि पात्लेखेतको अधिकांश बस्ती पहिरोको जोखिममा परेका छन् । पहिरोले ७०० रोपनी बढी खेतीयोग्य जमिन बगाएको र आठ हेक्टर बढी वन क्षेत्र सखाप पारेको स्थानीयवासी केदार सुवेदीले जानकारी दिए । “रघुगंगा सामुदायिक वनको ७५ प्रतिशत क्षेत्र क्षतविक्षत भएको छ, खेतबारी पहिरोले सखाप पार्दै बस्ती नजिक आइसकेको छ, तर पहिरो नियन्त्रणको प्रभावकारी कदम चालिएको छैन”, उनले भने । उनका अनुसार, पहिरोले गत वर्ष चार घर पूर्णरुपमा विस्थापित भइसकेका छन् ।
यामबहादुर राम्जाली, हरि गर्बुजा, खम्मी गर्बुजा, इन्द्रबहादुर रावतसँगै सुकुम्बासीको रुपमा बसोबास गर्दै आएकोमा गोरे रोकाको घर पहिरोले भत्काएपछि उनीहरुलाई पहिरोले विस्थापित बनाएको छ । बान्द्रेखाल्टीसँग नै जोडिएको पाखाखेत पहिरोले स्थानीय मुरारी हमालको घर भत्काएपछि उनीहरुसमेत अन्यत्रै विस्थापित भएर सरेका छन् । बान्द्रेखाल्टीमा विसं २०१८ मा नै पहिरो गएको स्थानीयवासी बताउँछन् । पछि विसं २०५८ देखि भने यहाँ वर्षौंपिच्छे पहिरो जान थाल्यो तर, त्यसको आकार अहिलेको जस्तो उठीबासै लगाउने अवस्थाको थिएन । विसं २०७२ मा गएको भूकम्पका कारण पहिरो नियन्त्रण बाहिर गएको स्थानीयवासी सुवेदीले बताए । भूकम्पपछि जंगलको बीचबाट पहिरो तल रघुगंगा नदीको किनार र माथि बस्तीसम्म नै पुगेको छ । भूकम्पपछि पात्लेखेत भूमिगत पहिरोको थप चपेटामा परेको छ ।
अहिले यहाँका २५ जना बढी स्थानीयको सयौँ रोपनी खेतीयोग्य जमिन पूरै पहिरोले बगाएको छ । धान, गहुँ, मकैलगायतका खाद्यबाली हुने खेतबारीका फाँट पहिरोले खण्डहरमा परिणत गरेपछि स्थानीयवासी चिन्तित बनेका छन् । खेतबारी हुँदै बस्तीसम्म पहिरो आइपुगेर दर्जनौँ घरलाई चिराचिरा पारेको छ । घर, आँगनसमेत चर्किएर जोखिम बढे पनि स्थानीयवासी जोखिम मोलेरै बस्न बाध्य भएका छन् । बान्द्रेखाल्टी पहिरोबाट ३५ र पाखे पहिरोबाट २८ घरधुरी बढी जोखिममा परेका छन् । भएथोक, ओखारी, पाईजागाउँलगायतका टोलबस्ती पहिरोबाट अत्यन्तै जोखिममा छन् ।


