२५ चैत , काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान) को आठौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गरेकी छन् । ‘शिक्षा विकासमा सार्थक साझेदारी : हिसानको योगदान र जिम्मेवारी’ मूल नाराका साथ मुलुकभर सञ्चालित निजी शिक्षालयकोे राष्ट्रव्यापी सञ्जाल मानिने सो संघको दुई दिवसीय महाधिवेशनको उद्घाटन राष्ट्रपति भण्डारीले गरेकी हुन् ।
समारोहमा राष्ट्रपति भण्डारीले हिसान स्मारिकाको विमोचनसमेत गरिन् । कार्यक्रममा सम्बोधन गर्दै उनले गुणस्तरीय, सर्वसुलभ र अनुसन्धानमुखी उच्च शिक्षाका लागि योगदान गर्न विद्यालय सञ्चालकलाई आग्रह गर्दै अधिवेशन सफलताको कामना व्यक्त गरिन् । कार्यक्रममा प्रधानमन्त्रीको कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले हिसानले समयसापेक्ष शिक्षाका लागि थप योगदान दिनुपर्नेमा जोड दिए ।
अधिवेशनका अवसरमा नेपालमा शिक्षाको सबलीकरण र निजी क्षेत्रको योगदान भन्ने विषयमा हिसान शिक्षा बहसको कार्यक्रम पनि राखिएको अध्यक्ष रमेशकुमार सिलवालले जानकारी दिए । महाधिवेशनले नेपालभर सञ्चालित निजी शिक्षालयबीचको एकतालाई मजबुत तुल्याउन, निजी शिक्षालयको समस्या पहिचान गरी सामूहिक रुपमा समस्या समाधान गर्न, दबाब समूहका रुपमा कार्य गर्न, नीति निर्माणमा सकारात्मक भूमिका खेल्न तथा शैक्षिक एवं प्राज्ञिक विकासको कार्यमा महत्वपूर्ण योगदान दिनेछ । हाल निजी लगानीबाट सञ्चालित मावि दुई तथा उच्च शिक्षालयको संख्या एक हजार ९७७ भन्दा बढी पुगिसकेको छ ।







