काठमाडौं जिल्ला वडा नं.३१ बानेश्वरको शान्तिनगर स्थित युनिभर्सल लाउन्ज एण्ड बारमा केही ब्यक्तिहरु अवैधरुपमा वन्यजन्तु सालकको खपेटा (ओखेटोपहार) को कारोवार गर्दै गरेको गोप्य सूचनाको आधारमा बानेश्वरबाट खटाएको प्रहरीले टोलीले दुई जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरूमा ओखलढुङ्गा जिल्ला सुनकोशी गाउपालिका २ घर भई हाल काठमाडौं जिल्ला थली बस्ने वर्ष २१ को सुवास विष्ट र सर्लाही जिल्ला साविक कर्मैया गा.वि.स ३ हाल परिवर्तित बागमती नगरपालिका वडा नं. १२ घर भई काठमाडौं सरस्वतीनगर बस्ने वर्ष ३२ को पासाङ लामा भन्ने सुविलाल सिंतानलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश राज मैनालीले बताए ।
महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरी टोलीद्वारा युनिभर्सल लाउन्ज एण्ड बारमा चेकजाँच गर्दा बारको भुई तलामा रहेको काउन्टर अगाडी रहेको टेबल कुर्सीमा बसेका ब्यक्तिहरुलाई फेला पारी निजहरुको साथमा भएको झोला चेकजाँच गर्दा झोलामा लुकाई राखेको अवस्थामा बन्य जन्तु सालकको जस्तो देखिने खपेटा ४ के.जी ५०० ग्राम नियन्त्रणमा लिइएको थियो ।
घटनाको सम्बन्धमा महानगरीय प्रहरी बृत्त बानेश्वरबाट थप अनुसन्धान भईरहेको प्रहरी बताए । उक्त घटनामा प्रकरण ‘क’ मा पक्राउ परेका २ जना ब्यक्तिहरुलाई प्रकरण ‘ख’ मा बरामद दशीसहित थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तिसार काठमाण्डौमा पठाइएको छ ।



