२९ जेठ , काठमाडौं । रसिया बक्सिङ संघले नेपाल बक्सिङ संघलाई बोलाएको कार्यक्रममा जान दिन मन्त्रिपरिषद्ले स्वीकृत दिएको छ । कार्यक्रममा सहभागी हुन नेपाल बक्सिङ संघका पदाधिकारीसँगै खेलकुद मन्त्री, मन्त्रीका स्वकीय सचिव, मन्त्रालयका सचिवसहित राखेप कर्मचारी जाने भएका छन् ।
युवा तथा खेलकुद मन्त्रालयले मन्त्रिपरिषदसँग स्वीकृत मागेको थियो । उक्त विषयलाई मन्त्रिपरिषद्ले स्वीकृत दिएको छ । स्वीकृत पाएसँगै मन्त्री बक्सिङ संघका पदाधिकारीसँगै खेलकुद मन्त्रालय र राखेपका पाँचजना पदाधिकारी सोमबार रसिया जाँदैछन् ।
खेलकुद मन्त्री महेश्वरजंग गहतराज, खेलकुद मन्त्रालयका सचिव दामोदर रेग्मी, राखेपका प्रशासन प्रमुख मधुसुदन बस्नेत, खेलकुद मन्त्रीका स्वकीय सचिव रोशनलाल सुनारको टोली जाँदैछ । राखेप सदस्य–सचिव टंकलाल घिसिङ भने उक्त कार्यक्रममा नजाने भएका छन् । उनलाई रसिया जान स्वीकृत दिएपनि आफू नजाने घिसिङले जानकारी दिए ।
‘मेरो रसिया जाने योजना छैन । मन्त्रीज्यूहरुको सोमबार जाने योजना छ,’ घिसिङले भने । त्यसमा बक्सिङ संघको तर्फबाट अध्यक्ष राम अवाले, उपाध्यक्ष अर्जुनबहादुर केसी, सदस्य मानबहादुर भण्डारी, अन्तर्राष्ट्रिय सम्बन्ध संयोजक श्यामकाजी अवाले जाँदैछन् ।
बक्सिङ विकासको विषयमा रसियामा बोलाएको हो । ‘रसिया संघ र नेपाल बक्सिङ संघबीच शारीरिक संस्कृति र खेलकुदको क्षेत्रमा सहयोगको विकासका लागि कार्य योजना २०२२–२०२३’ को कार्यक्रममा रुस बक्सिङ संघले नेपालको बक्सिङ संघलाई बोलाएको हो ।
बक्सिङ संघका पदाधिकारीको खर्च आयोजकले बेहोर्ने भएपनि त्यस बाहेकका व्यक्तिहरुको खर्च राखेपले बेहोर्नेछ । मन्त्रीहरुको टोली जाने विषयमा नेपाल बक्सिङ संघले पनि स्वीकार गरेको छ । संघका अध्यक्ष राम अवालले बक्सिङ संघको कार्यक्रम भएपनि मन्त्रीसहितको टोली सोमबार रसियाको जान लागेको हो ।



