२५ वैशाख, वीरगञ्ज । कोरोना संक्रमणबाट वीरगञ्जमा थप चार जनाको मृत्यु भएको छ । नारायणी अस्पतालमा तीन र नेशनल मेडिकल कलेजले बाबा होटलमा सञ्चालन गरेको कोरोना अस्पतालमा एक जनाको मृत्यु भएको हो ।

नेशनल मेडिकलको कोरोना अस्पतालमा ५५ वर्षीय संक्रमितको मृत्यु भएको छ । बाराको महागढीमाई नगरपालिका–२ का उनको शनिबार बिहान ११;५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
श्वासप्रश्वासमा समस्या देखिएपछि वैशाख १९ गते उनलाई अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालको इमरजेन्सी वार्डमा राखी स्वाब संकलन गरी पीसीआर गराउँदा भोलिपल्ट पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि उनलाई आइसोलेसनमा सारिएको र उपचारकै क्रममा बिहान मृत्यु भएको अस्पतालको भनाइ छ ।

स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी दाहसंस्कार गर्ने शर्तमा आफन्तले शव बुझेर लगेका छन् । नारायणी अस्पतालमा रौतहटका ५५ वर्षीय पुरुष, बाराका ४५ र ५५ वर्षीय पुरुषको मृत्यु भएको कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिए ।
रौतहटको सिर्सियाका ५५ वर्षीय पुरुषको बिहान पौने १२ बजे मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । एन्टिजेन परीक्षणका क्रममा वैशाख २१ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या भएपछि वैशाख २२ गत उनी अस्पतालमा भर्ना भएका थिए ।

बाराका ४५ वर्षीय संक्रमित पुरुषको शनिबार दिउँसो साढे १ बजे मृत्यु भएको हो । उनमा पनि वैशाख २१ गते गरिएको एन्टिजेन परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो । भोलिपल्ट उनी नारायणी अस्पतालमा भर्ना भएका थिए ।




