१० भदौ , काठमाडौँ । राष्ट्रिय परिचयपत्रका लागि तारकेश्वर नगरपालिकाको वडा नम्बर ३ को कार्यालयबाट परिचयपत्र विवरण संकलन सुरु भएको छ। बुधबारबाट सुरु भएको विवरण संकलन वडाको आवश्यकता अनुसार १५ दिन देखि ३० दिन सम्म खुल्ला रहने भएको छ।
सर्वसाधारणको सहजताका लागि गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय पंजीकरण विभाग बाट खटिएका कर्मचारीहरुले सातामा ५ दिन (आइतबार देखि बिहिबार सम्म) बिहान १० बजे देखि साँझ ५ बजे सम्म र शुक्रबार भने बिहान १० बजेदेखि दिउँसो ३ बजे सम्म विवरण संकलन गरिने तारकेश्वर –३ का वडा अध्यक्ष परशुराम अर्यालले न्युज24ग्यालेक्सीलाई जानकारी दिए।

उनले दैनिक ६० जना सम्मको विवरण संकलन गरिने बताए। उनले भने, ‘सर्वसाधारणको सहजताका लागि वडामा विवरण दर्ताको काम सुरु गरेका छौँ ।’ तारकेश्वरमा केही वडाले विवरण दर्ताको काम थालेका छन् भने बाँकी वडाहरुले चांडै नै सुरु गर्ने बताइएको छ ।
तारकेश्वरका मेयर कृष्ण हरि महर्जनले पनि जनताको सेवा जति सक्दो छिटो प्रवाह गर्न वडा अध्यक्षहरुलाई निर्देशन दिएका छन्। उनले वडाबाट नै सहजरुपले परिचयपत्र विवरण संकलनको लागि पहल गर्ने बताए । आवश्यक समन्वयको लागि नगरपालिका संधै तयार रहेको उनले बताएका छन ।

डिजिटल राहदानीका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेसंगै तार्केश्वरको सबै वडाहरुले विवरण दर्ताको तयारी थाल्ने क्रममा रहेका छन। परिचयपत्रको विवरण अनलाइनबाट समेत बुझाउन सकिने र परिचयपत्रका लागि आवेदन बुझाउन अनलाइन प्रक्रिया पूरा गरी कार्यालयमा आफै उपस्थित हुनुपर्नेछ । तर अनलाइनबाट फारम भर्न सर्वसाधारणलाई गाह्रो हुँदै आएको छ ।
वडा अध्यक्ष अर्यालका अनुसार परिचयपत्रका लागि आवेदन फाराम भर्दा १६ वर्ष उमेर पुगेका र नेपाली नागरिकताको प्रमाणपत्र पाएका नागरिकले नामथर, जन्ममिति, लिङ्ग, आमाबाबुको नाम, ठेगाना, नागरिकताको किसिम, पति र पत्नीको नाम, बाजेको नाम उल्लेख गर्नुपर्छ । यस्तै फारममा औँला छाप (१० वटा), आँखाको नानी, तस्वीर, राष्ट्रियता र हस्ताक्षर उपलब्ध गराउनुपर्छ ।

सरकारबाटली नागरिकलाई प्रदान गर्ने सेवा–सुविधालाई राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध गर्नाका साथै सो प्रणालीबाट प्राप्त हुने तथ्यांक तथा अभिलेख नीति एवं योजना निर्माणमा प्रयोग हुनेछ । यसले व्यक्तिको राष्ट्रिय पहिचानपत्र र मतदाता परिचयपत्रका रूपमा काम गर्ने सबै किसिमका सार्वजनिक सेवा प्राप्त गर्ने आधार दिनेछ । सामाजिक सुरक्षा कार्डका रूपमा यही कार्ड प्रयोग हुनेछ । यसले सुरक्षा व्यवस्थापनका लागि सहयोगी अभिलेखको काम गर्नेछ ।



