२८ भाद्र , काठमाडौँ । काठमाडौं महानगरपालिकाले सहकारी संस्थालाई विवरण बुझाउन सूचना जारी गरेको छ। महानगरले १५ दिनभित्र आफ्नो विवरणसहित महानगरमा उपस्थित हुन सूचना जारी गरेको हो।
साधरणसभा नगरेका सहकारीलाई १५ दिनभित्र साधरणसभागरी प्रतिवेदन काठमाडौं महानगरमा पेश गर्न भनिएको छ।
प्रतिवेदनमा सदस्य संख्या, सेयरपुँजी, बचत संकलन, ऋण लगानी, स्थिर सम्पत्ति, जम्मा सम्पत्ति दायित्व, प्रत्यक्ष रोजगारी, सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रतिवेदन पेश गरे नगरेको उल्लेख गरी महानगरमा बुझाउन सूचना जारी गरेको छ।
काठमाडौं महानगरले सहकारी संस्थामा सदस्य बनाएरमात्र कारोबार गर्ने र सबै सदस्यलाई साधरणसभामा उपस्थितिको लागि अनुरोध गर्न सूचनामा उल्लेख छ।
लेखापरीक्षण प्रतिवेदन, सञ्चालक समिति तथा लेखा समितिको प्रतिवेदन साधारण सभामा छलफल गरेर मात्रै पास गर्न भनेको छ।
त्यस्तै, मेयर शाहको निर्देशनमा भएको पत्राचारपछि राजश्व जम्मा हुन थालेको छ। लामो समयदेखि मनोरञ्जन कर नतिर्ने कम्पनीहरुलाई महानगरले अल्टिमेटमसहित कर तिर्न पत्राचार गरेपछि ८४ लाख रुपैयाँ कर संकलन भएको हो ।
पत्र काटेका ९ मध्ये ६ कम्पनीले कर बुझाएका हुन्। काठमाडौं महानगरले दिनै तोकेर चाँडो कर तिर्न कम्पनीहरुलाई अल्टिमेटम दिएपछि मनोरञ्जन कर संकलन हुनथालेको छ।
महानगरपालिकाका अनुसार काठमाडौं फनपार्क, डेल्टीन क्यासिनो, क्यासिनो प्यालेस, प्राइड इन्टरटेनमेन्ट एण्ड रिक्रिएसन हायात, माजोङ इन्टरटेनमेन्ट र बेलिज क्यासिनोले मनोरञ्जन कर तिरेका हुन् ।







