
५ कार्तिक , काठमाडौ । गृहमन्त्री बालकृष्ण खाणले सुरक्षा निकायमा जुनसुकै तहका कर्मचारीलाई बोलाउँदा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन दिएका छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी कसैलाई पनि ‘तँ’ नभन्न र सम्मानार्थी शब्द बोलचालमा प्रयोग गर्न उनले निर्देशन दिएका हुन् ।

गृहमन्त्री खाणले शुक्रबार गृह तथा सुरक्षा निकायका अधिकारीसँगको छलफलमा उक्त निर्देशन दिएका हुन् । छलफलमा गृहसचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका एआइजीपी विश्वराज पोखरेल, गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव सुनिल खनाल सहभागी थिए ।

सुरक्षा निकायले मुस्कानसहितको सेवा सञ्चालन गरिरहेकोमा अब सम्मानसहितको सेवा सञ्चालन गर्नु पर्ने निर्देशन गृहमन्त्रीले दिनुभएको हो,’ छलफलमा सहभागी एक अधिकारीले बताए ।





