४ माघ , काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृतवको सरकारले लगभग पूर्णता पाएको छ । मंगलबार १३ मन्त्री र तीन राज्यमन्त्रीले शपथ ग्रहण गरेसँगै प्रचण्डले २३ सदस्यीय मन्त्रीपरिषद विस्तार गरेका छन् ।
संवैधानिक व्यवस्थाअनसार मन्त्रिपरिषद २५ सदस्यीय हुने व्यवस्था छ । अब प्रधानमन्त्री प्रचण्डले दुई जना मन्त्री नियुक्त गर्नसक्छन् । यस पटकको मन्त्रिपरिषदमा नयाँ मन्त्रीहरुको संख्या धेरै रहेको छ ।
२० जना मन्त्री र ३ राज्यमन्त्री मध्ये १५ मन्त्री र ३ राज्यमन्त्री पहिलो पटक मन्त्रिपरिषदमा सहभागी भएका छन् । प्रचण्ड नेतृत्वको यो सरकारको सबैभन्दा सकारात्मक पक्ष नै नयाँ मन्त्री बन्नु हो । यसले नयाँलाई काम गरेर देखाउने अवसर र चुनौति दिएको छ ।
एमालेले अर्थमन्त्री विष्णु पौडेल बाहेक सबै नयाँ अनुहारलाई सरकारमा पठाएको छ । जसमा कृषिमन्त्री ज्वालाकुमारी साह, उद्योगमन्त्री दामोदर भण्डारी, भूमिसुधारमन्त्री राजेन्द्र राई, परराष्ट्रमन्त्री विमला राइ पौड्याल, स्वास्थ्यमन्त्री पदम गिरी, महिलामन्त्री भगवती चौधरी, रक्षामन्त्री हरि उप्रेती रहेका छन् ।
त्यस्तै यस पटक माओवादी केन्द्रले पनि केहि नयाँ अनुहारलाई मन्त्री बनायो । जसमा सुदन किराँती पर्यटनमन्त्री, अमनलाल मोदी सामान्यप्रशासनमन्त्री र सुशिला श्रीपाली पर्यटन राज्यमन्त्री रहेका छन् ।
त्यस्तै राप्रपामा अध्यक्ष राजेन्द्र लिङदेन पहिलो पटक उपप्रधान तथा उर्जामन्त्री बनेका छन् भने ध्रुबबहादुर प्रधान कानुनमन्त्री तथा दिपक बहादुर सिंह उर्जा राज्यमन्त्री बनेका छन् ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री बनेका सबै चार जना नयाँ नै हुन् । जसमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, शिक्षामन्त्री शिशिर खनाल, श्रममन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की रहेका छन् ।
त्यस्तै समानुपातिक प्रतिनिधित्वका हिसाबले भने प्रधानमन्त्री प्रचण्ड सरकार निर्माण गर्न चुकेका देखिन्छन् । सुशिला श्रीपाली बाहेक सरकारमा कुनै पनि दलितको प्रतिनिधित्व छैन ।
एक मात्र मुश्लिम मन्त्री बनेका जनमत पार्टीका अब्दुल खाँनले सहमति अनुसारको मन्त्रालय नपाएपछि पदभार ग्रहण गर्न अस्वीकार गरेका छन् । जनमत पार्टीले उद्योग मन्त्रालयमा दाबी गरेपनि उनलाई खानेपानी मन्त्री बनाइएको छ ।






