
२४ कात्तिक , काठमाडो । महानिरीक्षक शैलेश थापा क्षेत्रीले कानुन कार्यान्वयनमा कुनै सम्झौता नगरी काम गर्न निर्देशन दिएका छन् ।


नेपाल प्रहरी शिक्षालय भरतपुरमा संचालित विभिन्न उन्नत तथा आधारभूत तालिममा तालिमरत प्रशिक्षार्थी, प्रशिक्षक वर्ग साथै चितवन जिल्लास्थित विभिन्न प्रहरी ईकाईका प्रमुखहरुलाई सोही शिक्षालयमा मंगलबार निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताउनु भएको हो ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले शिक्षालयमा संचालित विभिन्न तालिममा सहभागी प्रहरी कर्मचारीहरुलाई नेपाल प्रहरी जस्तो गर्व गर्न लायक सेवामूलक पेशा छनौट गरेकोमा बधाई तथा धन्यवाद दिँदै नेपाल प्रहरी सेवाको निष्ठा र मर्यादालाई मनन गरी बद्लिदो परिवेश तथा चुनौतीलाई सामना गर्न आफ्ना जिम्मेवारी र उत्तरदायित्वप्रति कटिवद्ध भई निष्पक्षरुपमा नागरिक सेवामा कटिबद्ध हुन निर्देशन दिनुभयो ।
प्रशिक्षण प्रदायक संस्थाहरुमा कार्यरत प्रशिक्षकवर्गले नव आगन्तुक प्रशिक्षार्थी प्रहरी कर्मचारीहरुमा निहित व्यक्तिगत सिर्जनशिलतालाई यथावत रहन दिनुपर्ने तथा असल प्रशिक्षकले मात्र असल जनशक्ति उत्पादन गर्न सक्ने हुँदा प्रत्येक प्रशिक्षक आफैमा आदर्श हुनुपर्ने उहाँले बताउनुभयो ।
प्रहरी महानिरीक्षक थापा क्षेत्रीले कर्तव्यपालनाको सिलसिलामा आउन सक्ने विभिन्न आरोह अवरोहहरुलाई पेशागत निष्ठा र धर्म अनुसार सामना गर्दै व्यक्तिगत आचरण र व्यवहारमा समय सापेक्ष सुधार गरी आफ्नो तह अनुसारको जीवन जिउने शैली अनुशरण गरेमा मात्र प्रहरी पेशालाई गौरवशाली बनाउन सकिने बताउनुभयो ।
प्रहरी व्यवहार निष्पक्ष र यथोचित हुनुपर्नेमा जोड दिँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भन्नुभयो, “प्रहरी पोशाक र पेशाप्रति स्वाभिमानी हुन सिक्नुस् ।” हरेक काम कारवाहीमा पारदर्शी भई शून्य सहनशिलताको नीति अवलम्बन गर्नुपर्ने उल्लेख गर्दै प्रहरी संगठनको नीति विपरित काम गर्ने जो कोही कारवाहीको भागिदार हुने उहाँले बताउनुभयो ।



