डोल्पा । डोल्पा सदरमुकाम दुनैका नन्द बक्स गुल्मका गुल्मपति विमल पण्डित अझै सम्पर्कविहीन नै छन् । जिल्लाको दुनैस्थित नन्द बक्स गुल्मका प्रमुख पण्डित आइतबार अपराह्नपछि सम्पर्कविहीन भएका थिए ।
आइतबार साँझदेखि हराइरहेका पण्डित मंगलबार बिहानसम्म पनि सम्पर्कमा नआएका हुन् ।
डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलका अनुसार आइतबार साँझ ब्यारेकबाट एक घन्टाको दुरीमा रहेको त्रिपुराकोटमा देखिएका थिए ।
मोबाइलको अन्तिम लोकेसन पनि त्यहीँकै देखाएको बताइएको छ ।
आइतबार अपराह्न ४ः५५ बजे ब्यारेकबाट निस्किएको र सम्पर्कविहीन भएको डोल्पाका प्रहरी प्रमुख डिएसपी नवराज बुढाथोकीले जानकारी दिए । उनलाई प्रहरी र नेपाली सेनाले सोमबारदेखि निरन्तर खोजतलास गरिरहेको छ ।







