Comments Add Comment

Advertisment

SKIP THIS

मंसिर ७ सुरक्षा रणनीति: दुवै समूहलाई एकै ठाउँमा भेला हुन नदिइने, संयुक्त टोली परिचालन

४ मंसिर , काठमाडौ । मंसिर ७ गते बिहीबार राजधानी केन्द्रित दुई कार्यक्रमप्रति स्थानीय प्रशासन चनाखो भएको छ। उक्त दिन दुर्गा प्रसाईं समूह र नेकपा एमालेको युवा संघ नेपालले यहाँ छुट्टाछुट्टै कार्यक्रमको घोषणा गरेका छन्। माइतीघरमै भेला हुने गरि घोषणा भएका दुवै कार्यक्रम राजनीतिप्रेरित प्रदर्शन हुन्।

दुवै समूहको आन्दोलनको घोषणाले संघीय सरकारसँगै जिल्ला प्रशासन सतर्क देखिएका छन्। सुरक्षा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुवै समूहलाई एकै ठाउँमा कार्यक्रम गर्न नदिने निर्णय गरेको छ।

दुवै समूहले बिहीबार बिहान ११ बजे माइतीघर मण्डलमा कार्यक्रम गर्ने सामाजिक सञ्जालबाट घोषणा गरिसकेका छन्। केही समयदेखि युवा संघ र प्रसाईं समूह एकअर्काको ‘काउन्टर’मा उत्रिएका छन्। त्यसैले मुठभेड हुनसक्ने शंकामा दुवै पक्षलाई एउटै ठाउँ र नजिकै पर्नेगरि कार्यक्रम गर्न नदिने निर्णयमा प्रशासन पुगेको हो।

कार्यक्रम गर्नको लागि जिल्ला प्रशासन कार्यालयमा युवा संघ नेपालले निवेदन दिइसकेको छ। प्रसाईं समूहले पनि सोमबार निवेदन दिने तयारी गरेको छ। निवेदनपछि दुवै पक्षलाई छलफल गर्न बोलाउने पक्षमा प्रशासन देखिएको छ।

शान्तिपूर्ण रुपमा दुवै पक्षलाई कार्यक्रम गर्न दिए पनि सरकारले आफैंले ठाउँ तोकिदिने भएको छ। जसका लागि काठमाडौंको खुल्लामञ्चदेखि कीर्तिपुरसम्मका विकल्पहरु अघि सारिएका छन्।

‘दुवै पक्षलाई एकै ठाउँमा कार्यक्रम गर्न दिने छैनौं,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने‚ ‘ठाउँको बारेमा पनि छलफल भएको छ। उहाँहरु आएपछि थप निष्कर्षमा पुग्न सकिन्छ।’

माइतीघरमा भने दुवै पक्षलाई कार्यक्रम गर्न नदिने पक्षमा प्रशासन छ। प्रतिपक्षी दल एमाले सत्तारुढ नेकपा माओवादी र नेपाली कांग्रेससहितका गठबन्धन दलको सरकारसँग रुष्ट छ। जसको विरोधमा एमाले भ्रातृ संगठन युवासंघलाई शक्ति प्रदर्शनमा उतार्न उद्दत छ। युवासंघले उल्लेख्य संख्यामा प्रदर्शनकारी जम्मा गरेर कार्यक्रम गर्ने तयारी गरिरहेको छ।

उता प्रसाईं समूहले पनि देशका विभिन्न जिल्लाबाट मानिसहरु काठमाडौंमा उतार्ने तयारी गरिरहेको छ। दुई समूह एकैदिन कार्यक्रममा उत्रिँदा झडप हुनसक्ने सम्भावना भएको भन्दै गृह प्रशासनले सुरक्षा तयारी गरिरहेको छ। आइतबार गृहमन्त्रालयमा सुरक्षा निकायका प्रमुख, काठमाडौं उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीको बैठकमा उक्त कार्यक्रमको विषयलाई लिएर छलफल भएको थियो।

‘दुवैका र्‍यालीसहितको प्रदर्शन कसरी शान्तिपूर्ण हुन्छ भन्ने विषयमा छलफल भएको थियो। छिट्टै थप केही निर्णयहरु होलान्,’ बैठकमा सहभागीमध्येका एक सुरक्षा अधिकारीले भने।

यता प्रहरी प्रधान कार्यालय नक्सालले पनि मंसिर ७ गतेको कार्यक्रमलाई लिएर सम्बन्धित प्रहरी कार्यालयलाई सुरक्षा रणनीति तयार गर्न निर्देशन दिइसकेको छ। शनिबार प्रहरी प्रधान कार्यालयमा एआइजी दीपक थापाले कार्यक्रमको बारेमा ब्रिफिङ गरेका थिए।

प्रहरीले मंसिर ७ गतेलाई मुख्य ‘टार्गेट’मा राखेर सुरक्षा रणनीति बनाएको छ। दुर्गा प्रसाईं समूहले अनिश्चित आन्दोलन घोषणा गरेकाले सो दिनपछि थप सुरक्षा रणनीति परिवर्तन गर्नेगरि योजना प्रहरीले तयार गरिरहेको छ। तर सोही दिन दुई समूहको कार्यक्रम भएकाले एक अर्का माथि झडप नहुने गरि सुरक्षा रणनीति बनाइँदै गरेको एक प्रहरी अधिकृतले सुनाए।

गृह प्रशासनले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई संयुक्तरूपमा खटाउने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment