नेपालीलाई अवैध रूपमा रुसी सेनामा भर्तीका लागि पठाएको आरोपमा १२ जना पक्राउ परेका छन् ।
रुसमा सेनालगायत विभिन्न जागिरमा भर्ना गर्ने नाममा ठगी गरेको आरोपमा पक्राउ परेका १२ जनामाथि अनुसन्धान गर्ने क्रममा उक्त तथ्य फेला परेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बताए ।
एसएसपी खत्रीकाले पूर्वप्रहरी तथा सैनिकसहित बहालवालाहरु पनि रुसी सेनामा भर्ना हुन गएको देखिएको बताए । प्रहरीले रुस पठाउने तीन वटा समूहलाई पक्राउ गरेको छ । सुजाता दाहाल नेतृत्वको समूहका ५ जना र ईश्वर अधिकारी नेतृत्वको समूहका ६ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरि विश्वकर्मा र ईश्वरी अधिकारी, गोकर्ण अर्याल, सुजाता दाहाल, सन्तोष रोक्का, सन्तोष नेपाल र द्रोण डाँगी रहेका छन् ।
उनीहरू सामाजिक सञ्जालमार्फत विज्ञापन गरेर नेपाली युवालाई रोजगारीको प्रलोभन दिने गरेका थिए । त्यसरी सम्पर्कमा आएका व्यक्तिहरूसँग रकम असुली गरेर उनीहरूले यूएई हुँदै रुससम्म लैजाने गरेको परिसरले जनाएको छ ।


