१४ मंसिर काठमाडौ । श्रीमानको हत्या गरेर फरार रहेकी एक महिलालाई प्रहरीले ७ वर्षपछि पक्राउ गर्न सफल भएको छ ।

पक्राउ पर्नेमा दाङको तुलसीपुर उपहानगरपालिका स्थायी घर भएकी दिलकुमारी सेन छिन् । उनिमाथि आफ्ना पति द्रोणबहादुर सेनको हत्या गरेको आरोप छ ।

२०७१ साल चैत ९ गते दाङ तुलसीपुर नगरपालिका–१० स्थायी घर भई काठमाडौँको थापागाउँ बस्ने सेन धोबीखोलाको सिम्रिक पुलमुनि टाउकोमा चोट लागेको अवस्था मृत फेला परेका थिए ।
अनुसन्धानपछि प्रहरीले सो घटनामा संलग्न रहेको आरोपमा रामेछाप, गोकुलगंगा गाउँपालिका–४ बस्ने ५४ वर्षीय भीमे सार्कीलाई पक्राउ गरेको थियो । उनी काठमाडौं जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा छन् ।
सोही मुद्दामा फरार रहेकी दिलकुमारीलाई भने गोप्य सूचनाको आधारमा मंसिर १४ गते महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–१० बानेश्वरबाट पक्राउ गरेको हो । थप अनुसन्धानका लागि उनलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा पठाइएको अपराध महाशाखाले जनाएको छ ।





