ककनी, कात्तिक ४ । ककनी गाउँपालिका–१, जलकिनी (कागती गाउँ) निवासी सुकुटे बालामी र गाउले बालामीको घरमा आज बिहान करिब ४:३० बजे अचानक आगलागी भएको छ।
आगलागीबाट घरभित्र रहेका अन्नपात, गरगहना, नगदसहित सम्पूर्ण जिन्सी सामान जलेर नष्ट भएका छन्।
स्थानीयका अनुसार करेन्ट सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ। घटना भएको केही समयमै दमकल बोलाइए पनि बाटो साँघुरो र दुर्गम भएकाले दमकल पुग्न नसकेपछि स्थानीयहरूले ठूलो प्रयासका साथ आगो नियन्त्रणमा ल्याएका हुन्।
आगो नियन्त्रणमा आउँदासम्म दुबै घर पूर्णरूपमा जलेर खरानी भएका थिए। आगलागीका कारण लाखौं रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। मानवीय क्षति भने नभएको जनाइएको छ।
स्थानीय बासिन्दा तथा समाजसेवीहरूले पीडित परिवारलाई तत्काल राहत र पुनःस्थापनाको व्यवस्था गर्न गाउँपालिका तथा सम्बन्धित निकायलाई आग्रह गरेका छन्।








