२९ जेठ, काठमाडौ । गृह प्रशासनमा दर्जनौं प्रस्ताव अलपत्र परेका बेला गृह मन्त्रालयले मन्त्री पाएको छ । तुलनात्मक रुपमा राम्रो छवी भएका नेता खगराज अधिकारी गृहमन्त्री भएका हुन् ।

 

आज गृहमन्त्री खगराज अधिकारीले प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन्। निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री अधिकारीले प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याव, पोलीग्राफ सेक्सन र डाटा सेन्टरको निरीक्षण गर्नुका साथै प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिए ।

मन्त्री अधिकारीसँग प्रहरी अधिकारीले धेरै अपेक्षा गरेको छ । यसअघिका गृहमन्त्री रामबहादुर थापा बादलले प्रहरीका समस्या समाधानका लागि कुनै पहल गरेनन् । यसअघि स्वास्थ्य मन्त्री हुँदा पनि राम्रो काम गरेका अधिकारीले गृह मन्त्रालयमा पनि उनले सुधार ल्याउने आशा गरिएको छ ।

गृहमन्त्रीको सबैभन्दा ठूलो चुनौती प्रहरी संगठनका सरुवा तथा बढुवालाई सिष्टममा अघि बढाउने हो । जति निष्पक्षतका साथ यस्ता निर्णय ग¥यो, त्यती नै प्रहरी संगठन बलियो हुने र कानुनी शासनमा पनि त्यसको प्रभाव देखिन्छ । गृहमन्त्रीको प्रमुख काम कानुनी शासन कायम गर्ने भएकाले उनले सकेसम्म प्रहरीमा हस्तक्षेप गर्नुहुन्न ।

मन्त्री अधिकारीका अहिलेको मुख्य चुनौती सइको बढुवादेखि डिआइजीको सरुवासम्म छन् । नियमावली संशोधनको विवादका कारण चार महिनादेखि सइबाट इन्सपेक्टरको बढुवा हुन सकेको छैन । २०६० सालदेखिका दुई सय भन्दा धेरै सइको समयमा बढुवा हुन सकेको छैन । सइबाट इन्सपेक्टरमा बढुवा हुन १७ वर्ष लाग्ने अवस्था छ । यस्तो समस्या समाधान गर्न उनले नीतिगत रुपमै निर्णय गर्नुपर्ने आवश्यकता छ । त्यस्तै डिएसपीदेखि डिआइजीसम्मको सरुवा नियमित हुन सकेको छैन । सम्भवतः आगामी साता त्यससम्बन्धि निर्णय हुनेछ । यी सरुवाका निर्णय उनका लागि अग्निपरीक्षा हुनेछ ।

प्रहरीका सेवा सुविधा लगायत नीतिगत धेरै समस्या छन् । त्यसको समाधानमा अग्रसरता लिन सके अधिकारीले सफल गृहमन्त्रीका रुपमा आफ्नो राजनीतिक करिअरलाई नै माथि उठाउनसक्ने अवसर समेत छ ।