१२ असार ,काठमाडौ । सदरमुकाम नजिकै पर्ने जयपृथ्वी नगरपालिकास्थित देवल विमानस्थलमा सुरक्षा गार्डमा कार्यरत प्रहरी वर्षौंदेखि जीर्ण भवनमा बस्न बाध्य भएका छन् ।

नगरपालिकाको कार्यालय तथा देवल विमानस्थल रहेकोे स्थानको विमानस्थल सुरक्षा गार्डको भवन जीर्ण हुँदा त्यहाँ कार्यरत प्रहरीहरु त्रासैत्रासमा रात बिताउँदै आएका छन् । वर्षा याममा भविभित्रै पानीको भेलले रात बिताउन सकस हुने गरेको विमानस्थलको सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षक सुन्दरसिंह धामीले बताउँछन्। उनले भने, “बर्खा लाग्ने बितिकै चुहिने, तथा हावा लागेको बेला ढुङ्गा खस्ने डर लाग्छ ।

सामान्य वर्षा हुँदा पनि पानी चुहिने ठाउँमा थाल, कचौरा समातेर बस्नुपर्छ । पानीले ओछ्यान भिजेर सुत्न सकिंदैन । तीनरचार दिनसम्म चिसै लुगा लगाउनुपर्ने बाध्यता छ । पानी पर्न थालेपछि कहाँ पकाएर खाने भन्ने चिन्ता हुन्छ ।”

जनताको सुरक्षा गर्ने प्रहरी आफैँ असुरक्षित अवस्थामा रहनु परेको उहाँको भनाइ छ । भवनको भित्ताबाट माटो र कुहिएको काठ खस्ने गरेको उनी बताउँछन् । बेलाबेला विषालु सर्पभित्रै आउने हुँदा राति निदाउन नसकिने प्रहरी जवान गोविन्दप्रसाद जोशीले भने ।

उनी भन्छन्, “मुसाले प्रहरीको युनिफर्म काटिदिनु सामान्य जस्तै भइसकेको छ । हावाहुरी आउँदा घरसँगै उडाउने चिन्ता लाग्छ ।” भान्सामा पानी भरिभराउ हुँदा खाद्यान्न बिग्रने गरेको छ । भवनमा झ्याल नहुँदा जाडोमा चिसोले सताउँछ ।” विमानस्थलमा कार्यरत प्रहरीलाई बाढी, पहिरो, सर्पको मात्र त्रास होइन, उनीहरूले क्षमताभन्दा दोब्बर काम गर्नुपर्ने अर्को समस्या पनि छ ।

विमानस्थल, सिमखेत चेक पोष्ट, र पाँच वटा वडा हेर्नुपर्ने बाध्यता छ । विमानस्थल सुरक्षाको लागि १५ जनाको दरबन्दी रहेको भएपनि हाल ११ जना कार्यरत रहेका छन् । एकातर्फ विमानस्थलको डिउटी गर्नुपर्ने, अर्कातर्फ वडा नं ५, ६, ७, ८ र ९ को शान्ति सुरक्षा हेर्नुपर्ने हुँदा भ्याइ नभ्याइ हुन्छ । गाउँहरुमा कतै झैझगडा भएमा वा प्राकृतिक विपद् भएमा तुरुन्तै पुग्नु पर्ने बाध्यता रहेको छ ।