२१ असार ,काठमाडौं । एमाले नेता एवं पूर्वमन्त्री प्रभु शाहविरुद्ध प्रहरीमा ठाडो उजुरी परेको छ ।

विदेश पठाइदिने भन्दै लिएको पैसा फिर्ता नदिएको आरोप लगाउँदै प्रहरी वृत्त, बानेश्वरमा उजुरी परेको हो । बानेश्वरका डीएसपी मिमबहादुर लामाका अनुसार ३० लाख लगेकोमा १० लाख फिर्ता गरेका र थप पैसा बाँकी रहेको बताउँदै उजुरी परेको छ । ‘ठाडो उजुरी मात्र परेकाले बुझ्ने काम गरिरहेका छौं’ लामाले भन्नुभयो, ‘उहाँ नेताज्यूको घरमा पनि जानुभएको रहेछ ।’

प्रहरीका अनुसार बाँसबारीकी दीपा कुँवर नामक महिलाले निवेदन दिएकी हुन् । एक प्रहरी अधिकृत भन्छन्, ‘पैसा दिएको पुष्टि गर्ने आधारहरु पनि देखिएकाले उहाँलाई केही नभनेका हौं ।’