२२ असार ,काठमाडौं । भारतको देहरादुनमा तीन वर्ष अघि सडक दुर्घटनामा परेर उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको स्वास्थ्यमा समस्या देखिएको छ ।
गत जेठ २७ गते नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीको पहलमा उनको घरबाट उद्धार गरिएकी निशा हाल नर्भिक अस्पतालको विशेष उपचार कक्षमा उपचाररत छिन् ।
निशाका पिता प्रेम घिमिरेका अनुसार सोमबार निशाको मुखबाट रगत बगेको थियो । ‘सोमबार बिहानदेखि छोरीको मुखबाट रगत बगेको थियो । मंगलबार केही कम भएको छ’, प्रेमले भने, ‘त्योबाहेक उसको स्वास्थ्यमा कुनै समस्या देखिएको छैन । डाक्टरहरुको निगरानीमा राम्रो उपचार भइरहेको छ ।’
अस्पतालका डा। पंकज जलानको नेतृत्वको टिमले निशालाई ह्विलचेयर थेरापी, म्युजिक थेरापीलगायतका विभिन्न विधिबाट उपचार गरिरहेको छ ।
प्रेमले छोरीलाई अहिले पाइपबाट खाना खुवाइरहेको बताए । प्रेमका अनुसार निशा समय–समयमा बोल्न पनि खोज्छिन् ।
तीन वर्ष अघि मोडलिङ पढ्न देहरादुन पुगेको डेढ महिनामा नै उनी दुर्घटनामा परेकी थिइन् । त्यहाँ प्रारम्भिक उपचार पछि उनलाई काठमाडौंको ट्रमा सेन्टर ल्याइएको थियो ।
तीज गीतको भिडियोबाट मोडलिङ सुरु गरेकी निशाले झण्डै तीन दर्जन हाराहारीमा भिडियोमा अभिनय गरेकी छन् । उनले फिल्म ‘मधेशीपूत्र २’ र टेलिफिल्म ‘डियर जिन्दगी’मा अभिनय गरेकी छन् ।