२३ असार ,काठमाडौं । बुधबार बिहान निधन भएका बलिउड अभिनेता दिलीप कुमारप्रति बलिउड फिल्मकर्मीहरुले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली दिइरहेका छन् ।

बलिउड अभिनेत्री तथा नेपाली चेली मनीषा कोइरालाले पनि सामाजिक सञ्जाल ट्वीटरमार्फत दिलीपको स्मरण गरेकी छन् ।

‘उहाँसँग अभिनय गर्न पाउनु मेरा लागि एउटा भाग्य र आशिर्वाद नै थियो । हामीले सबैभन्दा सम्मानित व्यक्तिलाई गुमायौं । उहाँको स्थानसम्म पुग्न कोही छैनन्’, फिल्म ‘सौदागर’को पोस्टर राख्दै मनीषाले ट्वीटेकी छन् ।

मनीषाले सन् १९९१ मा फिल्म ‘सौदागर’बाट बलिउडमा पाइला चालेकी थिइन् । यो फिल्ममा दिलीप कुमार, राज कुमार, मनीषा कोइराला, विवेक मुसरन, अमरीश पुरीलगायतका कलाकारको अभिनय थियो । फिल्मका निर्देशक सुभाष घई हुन् ।