१० मंसिर काठमाडौ। मोरङमा फुटबल खेल्ने निहुँमा किशोरको हत्या गरी फरार एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको उर्लाबारी नगरपालिका ८ राजघाट चौधरी टोल बस्ने १७ वर्षीय अभिषेक चौधरीको हत्या गरी फरार रहेका सोही ठाउँ बस्ने २६ वर्षीय संजोग अधिकारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

गत साउन ११ गते दिउँसो फुटबल खेल्ने निहुँमा संजोगले धारिलो हतियार प्रहार गर्दा घाइते भएका अभिषेकको बिएण्डसी अस्पताल बिर्तामोड झापामा उपचारको क्रममा मृत्यु भएको थियो । घटनापछि फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी बुढिगंगा गाउँपालिका ७ मा धनकुटा पाख्रीबास नगरपालिका ४ बस्ने २६ वर्षीय रिजन दाहालको हत्या गरी फरार रहेका सुनसरी इटहरी उपमहानगरपालिका ११ भागलपुर बस्ने २२ वर्षीय राजु तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
गत कात्तिक २८ गते बेलुकी पुरानो रिसिवीका कारण राजुले रिजनलाई खुकुरी प्रहार गरी घाइते बनाएकोमा उपचारको क्रममा रिजनको मृत्यु भएको थियो । तत्काल फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई जिल्ला अदालत मोरङमा पेस गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।








