१६ पुष काठमाडौ । पुस १४ मा बिहानैदेखि झरी शुरु भएपछि बालाजुबाट ‘हिँउ खेल्छु’ भनेर निस्केका सुजन लामा भोलिपल्ट चन्द्रागिरी नगरपालिका–४ मा मृत अवस्थामा भेटिए ।
३० वर्षका लामा बुधवार बिहान ८ बजेतिर घरबाट निस्केका हुन् । बुवा सानु लामा तामाङका अनुसार दिदी र आमालाई ‘हिँउ खेल्न जान्छु’ भनेका सुजनले बुवालाई चाहिँ ‘काममा जान्छु’ भनेका थिए । राति अबेरसम्म घरमा नफर्केपछि परिवारका सदस्यहरु खोजतलास गर्न थाले । तर, उनि चन्द्रागिरीमा मृत अवस्थामा भेटिए ।
महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरबाट खटिएका अनुसन्धान अधिकृतहरुले प्रारम्भिक अनुसन्धानपछि शव त्रिवि शिक्षण अस्पतलामा पठाएका छन् । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक डाक्टर गोपाल चौधरीले घटनास्थलमा गएर शवको अवस्था हेरेका छन् ।
शवमा बाहिरी चोटपटक नदेखिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले रातोपाटीलाई बताए । कतै सुजनको हत्या भएको त हैन ? त्यसबारे पोष्टमार्टको रिपोर्ट हेरेपछि मात्रै अनुसन्धान गरिने एसएसपी खापुङले बताए । उनले भने–‘हिँउ खेल्न जाँदा उनी एक्लै गएका थिए कि, साथमा अरु पनि थिए भन्नेबारे अनुसन्धान गर्दै छौँ ।’
उनि मोटरसाईकल चढ्थे । तर, त्यसदिन उनी मोटरसाइकल घरमै छाडेर गएका थिए । उनको साथमा जाडोमा लगाउने ५ थान उनको टोपी र दुई थान डाटा केवल भेटिएको छ । दुई वर्षअघि विदेशबाट फर्केका लामा पछिल्लो समय पसलमा काम गर्थे ।
टोपी र डाटा केवल उनले बेच्नका लागि बोकेको हुनसक्ने बताइएको छ । चित्लाङतर्फ मोटरसाइकल जाने बाटोबाट करिब ७ मिनेट परको दुरीमा उनको शव फेला परेको थियो ।








