१ पुष , काठमाडौ । रक्षामन्त्री डा। मिनेन्द्र रिजालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । पार्टीको १४औँ महाधिवेशनमा महामन्त्रीका उम्मेदवार रिजालले मतपरीणाम आउनेक्रम जारी रहेकै बेला रक्षामन्त्रीबाट राजीनामा दिने निर्णय गरेका हुन् ।
‘नेपाली कांग्रेसको १४औँ हाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु ।’
जारी मतगणनामा (यो समाचार तयार पारिरहँदा) रिजालले ४३६ मत प्राप्त गरेका छन् । सर्वाधिक मत प्राप्त गरेका प्रतिस्पर्धी गगन थापाले १६४८ पाएका छन् । यो परिणाम गगनको भन्दा झण्डै चार गुणा कम हो ।
हालसम्म मतगणना २५२० मत गनिसकिएको निर्वाचन समितिले जनाएको छ । जसमा गगन कुमार थापा १६४८, विश्व प्रकाश शर्मा १०१९, प्रकाश शरण महत ८२७, प्रदिप पौडेल ७४६, मिनेन्द्र रिजाल ४३६ र राजाराम कार्कीले ६४ मत पाएका छन् ।







