११ फागुन, काठमाण्डौं । नेपाल–भारत ऊर्जा सहसचिव स्तरीय बैठक काठमाडौंमा बस्दैछ । सहसचिवस्तरीय बैठक आज दिउँसो तीन बजे ह्यात होटलमा सुरु हुने भएको हो ।
सहसचिव स्तरीय बैठकपछि बिहीबार सचिवस्तरीय निर्देशक समितिको बैठक बस्नेछ । नेपालको तर्फबाट निर्देशक समितिको बैठकको नेतृत्व ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले र सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठकको नेतृत्व सहसचिव चिरञ्जिवी चटौतले गर्नेछन् ।
सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठकले निर्णय गर्न नसक्ने विषय निर्देशक समितिमा छलफल गरेर टुंगोमा पुर्याउन प्रयास गरिने अधिकारीहरुले बताएका छन् ।
ऊर्जा मन्त्रालयका सचिव कार्कीका अनुसार दुई देशबीचको ऊर्जा बैठकमा नेपाल–भारत विद्युत् व्यापार, संरचना निर्माणलगायतका विषयमा छलफल हुनेछ । नेपालले दुई देशबीच विद्युत् आदानप्रदानका लागि पूर्वाधार निर्माण गर्नेदेखि नीतिगत समस्या समाधानसम्मका विषयलाई उठाउने तयारी गरेको छ ।
सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक प्रत्येक ६–६ महिनामा बस्ने प्रावधान छ । यसअघि २०७६ सालमा भारतको बैंगलोरमा बैठक बसेको थियो ।





