६ चैत , काठमाडौ । माओवादी केन्द्रले दमकमा बन्दै गरेको भ्युटावरलाई अस्पतालमा रूपान्तरण गर्न माग गरेको छ । दमक-३ मा बन्दै गरेको १८ तले भ्युटावरलाई सुविधा सम्पन्न सरकारी अस्पतालमा रूपान्तरण गर्न माग गरेको हो ।
माओवादी केन्द्रको नगर कमिटी बैठकले मेडिकल कलेजसहितको अस्पतालमा रूपान्तरण गर्न माग गरेको नगर कमिटी अध्यक्ष रवि बस्नेतले जानकारी दिए । ‘त्यहाँको संरचना अस्पताल बनाउन हुने नै छ । स्थलगत अनुगमन गरेर हामी यो निष्कर्षमा पुगेका हौँ,’ उनले भने, ‘हामीले गरेको निर्णय पार्टी केन्द्र र अध्यक्ष प्रचण्ड, अर्थ मन्त्रालयमार्फत प्रधानमन्त्री कार्यालय, प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत मुख्यमन्त्री कार्यालयमा पनि पठाउने छौँ ।’
दमक क्षेत्रमा ठूलो सरकारी अस्पताल नभएका कारण पनि बन्दै गरेको संरचनामा मेडिकल कलेजसहित प्रादेशकि अस्पताल सञ्चालन गर्न माग गरिएको माओवादी दमकका इञ्चार्ज वेदु गौतमले जानकारी दिए । ‘जनताले निजी अस्पतालमा उपचार गर्न महँगो शुल्क तिर्नुपर्ने बाध्यता छ । सुविधा सम्पन्न सरकारी अस्पताल यहाँको आवश्यकता हो ।
स्थानीय पनि अस्पतालकै पक्षमा
माओवादीले निर्णय गरेजस्तै स्थानीय जनता पनि अस्पतालको पक्षमा छन् । दमक बजारदेखि करिब ६ किलोमिटर पश्चिमउत्तरमा बन्दै गरेको भ्युटावरलाई अस्पतालमा रूपान्तरण गर्न सके राम्रो हुने स्थानीय बताउँछन् । ‘सरकारी अस्पतालका लागि दमक पुग्नुपर्छ । त्यहाँ पनि लाइन बस्नै नसक्ने भीड हुन्छ । भ्युटावरको मुख्य उद्देश्य भ्यु हेर्नु हो ।
दमक(३ मा भ्युटावरबाहेक केही पनि विकास भएको छैन । गाउँमा न खाने पानी पुगेको छ न त गतिलो सडक नै छ । स्थानीय अहिले पनि ट्युबवेलको पानी खान्छन् । भ्युटावरको सट्टा अस्पताल बने गाउँको विकासले फड्को मार्ने स्थानीय राजनप्रसाद घिमिरेको बुझाइ छ । ‘अस्पताल बनाउन सके त गाउँमा पक्की सडक बन्ने थियो । मान्छे आउने संख्या भएपछि सडक त बन्ला नि १ खानेपानी आउने थियो,’ उनी भन्छन्, ‘अहिले त भ्युटावरबाहेक केही छैन । सडकमा धुलो उडेर हिँडिसक्नु हुँदैन ।’


