३० चैत , काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले दोलखा जिल्लाका ९ स्थानीय तहमध्ये ७ स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ । दोलखाका ७ गाउँपालिका र दुई नगरपालिकामध्ये माओवादीले अब दुई गाउँपालिकामा मात्रै उम्मेदवारको टुंगो लगाउन बाँकी छ ।
माओवादीले जिरी नगरपालिकाको प्रमुखमा गेल्बु शेर्पा, उपप्रमुखमा रसी तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टी केन्द्रीय सदस्य एवं दोलखा इञ्चार्ज देवी खड्काले बताइन् । पार्टीको निर्वाचन समितिले उम्मेदवारको टुंगो लगाएको उनले बताइन् । त्यस्तै, भीमेश्वर नगरपालिकाको प्रमुखमा हिमबहादुर श्रेष्ठ, सुन्दर केसी, भूमिराज चौलागाइँ र कमला कार्कीको नाम सिफारिस भएको छ । यस्तै, उपप्रमुखमा रानु श्रेष्ठ र भूमिका तामाङको नाम सिफारिस भएको छ । भूमेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा सर्वसम्मत हुन नसकेपछि धेरै जनाको नाम सिफारिस भएको बताइएको छ ।
कालिञ्चोक गाउँपालिकाको अध्यक्षमा कुलबहादुर बुढाथोकीको मात्रै नाम सिफारिस भएको छ । उपाध्यक्षमा सपना तामाङ, डोल्मा थामी र शान्ति कार्कीको नाम सिफारिस भएको छ । वैतेश्वर गाउँपालिकाको अध्यक्षमा लक्ष्मण खड्का र तामाकोसी गाउँपालिकाको अध्यक्षमा सन्तोष केसीको नाम सिफारिस भएको छ । वैतेश्वर र तामाकोसी गाउँपालिकाको उपाध्यक्षको नाम आगामी शुक्रवारसम्ममा टुंगो लगाइने जनाइएको छ । यस्तै, गौरशंकर गाउँपालिकाको अध्यक्षमा विश्वास कार्की र छिरिङ शेर्पाको नाम सिफारिस भएको छ । उपाध्यक्षमा निमलेखी शेर्पा र मधुरा कार्कीको नाम सिफारिस भएको छ ।
विगु गाउँपालिकाको अध्यक्षमा सञ्जीव ओलीको मात्रै नाम सिफारिस भएको छ । उपाध्यक्षको नाम भने शुक्रवारसम्म टुंगो लाग्ने बताइएको छ । सैलुङ मेलुङ गाउँपालिकाको भने अध्यक्ष र उपाध्यक्ष दुवैको टुंगो लाग्न सकेको छैन । दोलखा जिल्लाका सबै स्थानीय तहका उम्मेदवारको टुंगो वैशाख १ गतेसम्ममा लगाइसक्ने जिल्ला इञ्चार्ज खड्काले जानकारी दिइन् ।






