२ भदौ , काठमाडौ । अधिकांश प्रयोगकर्ता गाेपनीयताका लागि भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गर्छन् । तर एक रिपोर्टले एप्पलको आईओएसमा रहेका सबै भीपीएन सेवा बेकामे भएको तथ्य बाहिर ल्याएको छ ।
एप्पलसम्बन्धी समाचार लेख्दै आएको समाचार पोर्टल ‘एप्पल इन्साइडर’ले एक रिपाेर्टलाई उद्धृत गर्दै आईओएसमा उपलब्ध हुने सबै भीपीएनले काम नगर्ने कुरा बाहिर ल्याएकाे हाे ।
उक्त रिपोर्टमा आईओएसमा लामो समयदेखि सुरक्षा कमजाेरी (बग) रहेकाे र त्यसले भीपीएनलाई पूर्ण रूपमा ट्राफिक इन्क्रिप्ट गर्नबाट रोकिरहेकाे जनाइएकाे छ । साथै रिपाेर्टले के पनि दाबी गरेको छ भने एप्पल यो कमजोरीबारे २०२० देखि नै जानकार भएपनि केही कदम चालेको छैन ।
यो सुरक्षा कमजोरी पहिलोपटक ‘प्रोटोन भीपीएन’ नामक भीपीएन कम्पनीले मार्च २०२० मा पत्ता लगाएको थियो । साे कम्पनीका अनुसार भीपीएन अन गरिएको खण्डमा अपरेटिङ सिस्टमले सबै इन्टरनेट जडान बन्द गर्नुपर्छ । त्यसपछि इन्क्रिप्ट नगरिएको डेटा चुहावटबाट रोक्नका लागि भीपीएनमार्फत पुनः कनेक्ट गर्नुपर्छ ।
आईओएस १३.३.१ र त्यसपछिका भर्जनमा भीपीएन जोडिएका डिभाइसको कनेक्सन बन्द गर्ने र पुनः खुल्दैनन्, जसले गर्दा प्रयोगकर्ताले भीपीएन प्रयोग गर्नुअघि अञ्जानमा असुरक्षित कनेक्सन प्रयोग गरिरहेका हुन्छन् ।
साे भीपीएन कम्पनीले त्यस समयमा निगरानी गरिएका र नागरिक अधिकारको उल्लङ्घन सामान्य भएको देशका मानिसहरू यस सुरक्षा कमजोरीका कारण सबैभन्दा ठूलो जोखिममा रहेको बताएको थियो ।
त्यस्तै कम्प्युटर कन्सल्ट्यान्ट एवं ब्लगर माइकल होरोविट्सले यो सुरक्षा कमजोरी अहिले पनि यथास्थितिमा रहेको बताएका छन् । यसबारे विस्तृत रूपमा विश्लेषण गरिएको एक ब्लगमा होरोविट्सले आईओएसमा भीपीएन प्रयोग गर्दा बारम्बार महत्त्वपूर्ण डेटा लिक हुने गरेको उल्लेख गरेका छन् ।
होरोविट्सले आफ्नो आईप्याडमा विभिन्न भीपीएन प्रयोग गरेर यो डेटा अवलोकन गरेको बताएका छन् ।
“पहिले त यसले राम्रोसँग काम गरेको जस्तो देखिन्छ,” उनी भन्छन्, “तर केही समयपछि डेटाले आईओएस डिभाइस छोड्दा भीपीएन टनेल लिक भइरहेको छ भन्ने देखाउँछ ।”
यस सुरक्षा कमजोरीबारे आवाज उठाइरहेका होरोविट्सले केही समयपछि यस्ता सवालबारे आवाज उठाउन छाडे ।
सम्बन्धित समाचार: फ्री भीपीएनको प्रयोग कति सुरक्षित ?


