३१ असोज , काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्नस्थानबाट हराएका २१ ओटा दुई पाङग्रे सवारी साधन फेला पारी आज सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गर्नु भएको हो ।

दुई पाङ्ग्रे सवारी साधन चोरी भएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सवारी धनीले विभिन्न मितिमा दिएको निवेदनका आधारमा खोजतलास गर्दा भेटिएका १५ ओटा मोटरसाइकल र ६ ओटा स्कुटर आज हस्तान्तरण गरिएको हो । गत साउनदेखी असोज ३० गतेसम्म दुई पाङ्ग्रे सवारी साधन चोरी भएको भनी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा ४०२ ओटा निवेदन प्राप्त भएका थिए । प्राप्त निवेदनको आधारमा चोरी भएका सवारी साधन ट्राफिक प्रहरीले खोजी गर्दा १५९ ओटा फेला परेका थिए । जसमध्ये साउन महिनामा ६८ ओटा र भदौ महिनामा ३८ ओटा सवारी साधन धनीलाई जिम्मा लगाइ सकिएको छ । यस्तै आज सहित असोजमा ३२ ओटा सवारी साधन सम्बन्धित धनीको जिम्मा लगाइएको छ ।
यही असोज महिनामा चोरीको एउटा मोटरसाइकल सहित नियन्त्रणमा आएका एक जनालाई भने आवश्यक कारवाहीको लागी सम्बन्धित वृत्तमा पठाइएको प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले जानकारी दिनुभएको छ ।



