४ फागुन , काठमाडौ । यस वर्षको महाशिवरात्रिका अवसरमा काठमाडौंको बागमती नदीमा प्राकृतिक बहाव बढ्ने भएको छ ।
बागमती नदीको प्राकृतिक बहाव बढाउन काठमाडौंको गोकर्णेश्वर नगरपालीका–१ मा निर्माण गरिएको जलाशययुक्त धाप ड्यामको उद्घाटन भएसँगै यसवर्षको महाशिवरात्रिमा बागमतीमा प्राकृतिक बहाव बढ्ने भएको हो ।
काठमाडौंको सुन्दरी जलबाट १८ किलो मिटर टाढा निर्माण गरिएको धाप ड्यामको बिहीबार उपप्रधान तथा ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देनले उद्घाटन गरेका छन् । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एशियाली विकास बैंकको ८९ करोड सहयोगमा निर्माण भएको जलाशययुक्त धाप ड्यामबाट शिवरात्रिको अवसरमा बागमती नदीको बहाव बढाइने बागमती सुधार आयोजनाले जनाएको छ ।
धाप ड्यामको उद्घाटन गर्दै लिङ्देनले ड्यामको निर्माणबाट बागमती सभ्यताको संरक्षण एवं बागमती सफाइका लागि उदाहरणीय काम भएको उल्लेख गरे ।
त्यस्तै शहरी विकास मन्त्री विक्रम पाण्डेले धाप ड्याम जस्ता संरचना बनाउँदा बायो इन्जिनियरिङमा ध्यान दिनुपर्नेमा जोड दिए । उनले बायो इन्जिनियरिङमा ध्यान दिन नसके जलाशययुक्त धाप ड्याम दीर्घकालीन नहुने बताए ।
शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्र रहेको जलाशयमा नै धाप ड्याम निर्माण गरिएको हो । जलाशयमा वर्षाको पानी संकलन गरिनेछ । मुख्य बाँधको उचाइ २४ मिटरको रहेको छ भने जलाशयमा ८ लाख ५० हजार घनमिटर पानी सञ्चय गर्न सकिनेछ ।
आयोजनाको जलाशयबाट वर्ष भरी नै बागमती नदीमा खसाल्न सकिने भए पनि हाल आवश्यकता अनुसार बागमतीमा पानी खसालिने बागमती सुधार आयोजनाले जनाएको छ ।



