बुटवल — रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट साढे १४ लाख रुपैयाँभन्दा बढीको अवैध कपडा र खाद्यान्न बरामद गरेको जनाएको छ ।
१४ लाख ५७ हजार ९ सय ९० रुपैयाँ बराबरका कपडा र खाद्यान्न बरामद गरी बुधबार नै भैरहवा भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए ।

प्रहरीले मंगलबार साँझ सिद्धार्थनगर नगरपालिकामा दिनेश पोख्रेलको घरबाट तन्ना, साडी, सर्ट, टिसर्ट, पाइन्ट लगायत ८ लाख ८४ हजार बराबरका सामान बरामद गरेको थियो ।
मर्चवारी गाउँपालिका ७ महादेव पाल र शिवनाथ भनिने सूर्यनाथ पालको घरबाट ३ लाख १२ हजार रुपैयाँ मूल्य बराबरको ५० किलोको एक सय बोरा चामल बरामद भएको थियो ।
यस्तै कोटइमाई गाउँपालिका ३ नौडीहवामा बेवारिसे अवस्थामा रहेको भारतबाट भन्सार छली ल्याउँदै गरेको २ लाख ९१ हजार ९ सय ९० रुपैयाँ बराबरको चामल र गहुँ बरामद गरिएको प्रहरीले जनाएको छ ।




