१८ वैशाख , काठमाडौ । लागूऔषध गाँजासहित मकवानपुर थाहा नगरपालिका वडा नम्बर–७ का वडा अध्यक्ष शिवराज थिङ पक्राउ परेका छन् ।
लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौँ र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले वडा अध्यक्ष थिङसहित ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
वडा अध्यक्ष थिङको घरबाट प्रहरीले २७ किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा वडा अध्यक्ष थिङसहित भीमलाल थिङ र इन्द्र बहादुर थिङ रहेका छन् ।
प्रहरी टोलीले थाहा–७ आग्रा बस्ने ३९ वर्षीय वडा अध्यक्ष शिवराज थिङ, ७६ वर्षिय भीम बहादुर थिङ र ६७ वर्षिय ईन्द्र बहादुर थिङको घरमा लुकाइछिपाई राखेको अवस्थामा गाँजा बरामद गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
सोमबार बिहान लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौँबाट खटिएको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक उमेश प्रसाद कोइरीको कमाण्डमा खटिगएको संयुक्त टोलीले तीनै जनाको घरबाट गरी जम्मा २०२ केजी लागूऔषध गाँजा बरामद गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
लागूऔषध गाँजा विक्री वितरण गर्ने उद्देश्यले भीम बहादुर र शिवराजको घरबाट ३० वटा पोकाहरुमा २७ किलो ग्राम गाँजाको धुलो र ईन्द्र बहादुरको घरबाट १० वटा बोराहरूमा १७५ किलो लागूऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
घटनास्थल इलाका प्रहरी कार्यालय पालुङबाट २० किलोमिटर पश्चिम उत्तर पर्छ । उनीहरूलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय पालुङमा राखी अनुसन्धान कार्य भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
पक्राउ परेका वडा अध्यक्ष थिङ गत २०७९ वैशाखमा भएको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । उनले एमालेका विनायक गोलेलाई पराजीत गर्दै निर्वाचन जितेका थिए । उक्त निर्वाचनमा थिङले ९१६ मत प्राप्त गरेका थिए भने एमालेका गोलेले ९०४ मत प्राप्त गरेका थिए ।


