५ जेठ , काठमाडौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले राजनीतिक तथा उच्च पदस्थसहित १६ जनालाई पक्राउ गरेको छ ।
बिहीबार नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ र भुटानी शरणाार्थी नेता टेकनाथ रिजाल पक्राउ परेसँगै यस प्रकरणमा पक्राउ पर्ने आरोपितको संख्या १६ पुगेको हो ।
यसअघि नेपाल सरकारका पूर्वउपप्रधानमन्त्री टोबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सरकारका वर्तमान सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, खाँणका निजी सचिव नरेन्द्र केसी, नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा पक्राउ परिसकेका छन् ।
त्यस्तै सन्देश शर्मा, टोपबहादुरका छोरा सन्दीप, रामशरण केसी, गोविन्द चौधरी, सागर राई, टंकबहादुर गुरुङ, केशव दुलाल र सानु भण्डारी पक्राउ परेका छन् । उनीहरुलाई काठमाडौंका विभिन्न हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
सामान्यतया प्रहरीले पक्राउ गरेका अभियुक्तलाई थुनामा राख्ने स्थान फरक भए पनि निर्धारित ठाउँ एकै हुने गर्छ । तर, नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका भीआईपी अभियुक्तलाई भने प्रहरीले बसोबासका लागि अन्य अभियुक्त राख्नेभन्दा अलग्गै व्यवस्थापन गरेको छ ।
नेकपा एमालेका निलम्बित सचिव रायमाझीलाई प्रहरी वृत्त सोह्रखट्टेको हिरासतमा राखिएको छ । पक्राउ पुर्जी जारीपछि २० बैशादेखि फरार रहेका उनी आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठ पासिकोट भन्ने ठाउँबाट पक्राउ परेका थिए । रायमाझीलाई वृत्तका प्रहरी निरीक्षक ९इन्सपेक्टर० बस्ने कोठामा राखिएको छ ।
त्यस्तै पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणलाई काठमाडौं जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएको छ । उनलाई परिसरका डीएसपीको कोठामा बेडसहितको व्यवस्था गरेर छुट्टै राखिएको छ ।
त्यस्तै नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई पनि सिंहदरबार वृत्तको हिरासतमा राखिएको छ । उनलाई पनि वृत्तमा छुट्टै कोठामा राखिएको छ ।
यसै प्रकरणमा मुछिएका ईन्द्रजीत राईका छोरा निरज राई भने पक्राउ पुर्जी जारीपछि फरार छन् । कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवा, बालकृष्ण खाँण पत्नी मञ्जु, एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिक र प्रेम राईको नाम पनि यस प्रकरणमा जोडिएको छ ।





