१ असोज , काठमाडौ । तीनकुनेस्थित दिव्य सःमिलमा शुक्रबार राति भएको चार जनाको सामूहिक हत्याकाण्ड अनुसन्धानमा नेपाल प्रहरीलाई छोटो समयमै सफलता मिलेको छ । हत्या आरोपमा प्रहरीले सञ्जय भण्डारीलाई पक्राउ गरेको छ ।
३७ घन्टामा नै प्रहरीले सामूहिक हत्याको मुख्य अभियुक्त सिन्धुपाल्चोकको बाह्रबिसे–९ घर भई काठमाडौं काँडाघारीमा बस्दै आएका २३ वर्षीय भण्डारीलाई काँडाघारी क्षेत्रबाट पक्राउ गर्न सफल भएको हो । प्रहरीले उनलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक समेत गरेको छ ।
जिल्ला प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयले संयुक्त पत्रकार सम्मेलन गरेर आइतबार साँझ अभियुक्त भण्डारीलाई सार्वजनिक गरेको हो । सम्मेलनमा बोल्दै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले भण्डारीले हत्यामा संलग्नता स्वीकार गरेको बताए ।
सामूहिक हत्यामा महत्वपूर्ण ‘क्लु’ फेला पारेसँगै भण्डारीलाई सीसीटिभी फुटेजको आधारमा पक्राउ गर्न सफल भएको सम्मेलनमा एसएसपी राठौरले जानकारी दिए । घटना भएको दिन उनले बोकेको झोला र घटनामा प्रयोग भएको खुकरीसहित नियन्त्रणमा लिइएको राठौरले बताए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार भण्डारीको सःमिलमा बस्ने नवीन भन्ने विशाल राईसँग दुस्मनी थियो । केही पहिले राईले चलाएको मोटरसाइकलले चाबहिलमा भण्डारीलाई ठक्कर दिएको खुलेको छ । त्यसक्रममा नवीनले भण्डारीमाथि कुटपिट गरेका थिए ।
त्यसको बदला लिन आफूले यो घटना घटाएको भण्डारीले प्रहरीसमक्ष बयान दिएका छन् । नवीनसँग मात्रै दुष्मनी भएपनि पोल खुल्ने डरले उनले अन्य तीनजनाको पनि हत्या गरेको खुलेको कार्यालय प्रमुख एसएसपी राठौरले जानकारी दिए ।
आरोपी भण्डारी जन्मजात बोल्न नसक्ने, सिन्धुपाल्चोक बाह्रबिसेमा ८ कक्षासम्म अध्ययन गरी १२ कक्षासम्म काठमाडौँमा अध्ययन गरेको खुल्न आएको छ । उनले सम्पूर्ण घटना एक्लै घटाएको स्वीकार गरेको, तर अनुसन्धान भइरहेको राठौरले बताए ।
शुक्रबार राति तीनकुनेको दिव्य सःमिलमा नवीन राईसहित दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती करिब ५० वर्षकी अम्बिका भुजेल र आमा सुमित्रा भुजेलको धारिलो हतियार प्रहारबाट हत्या भएको थियो ।
भण्डारी काँडाघारीस्थित दिदी भिनाजुसँग बस्थे । आवतजावत गर्ने क्रममा भण्डारीले दिव्य सःमिलको घर टहरोमा आफ्नो दुस्मन ठानेका नवीनलाई देखेका थिए । घटनाको दिन पनि उनी नवीनलाई भेटेर कुराकानी गर्ने, निहुँ खोजे आक्रमण गर्ने भनेर काँडाघारीबाट त्यहाँ गएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
‘दिदी भिनाजुको घरको डेरा कोठाबाट खुकुरीसमेत आफूले बोक्ने झोलामा हाली काँडाघारीस्थित वीरेन्द्र चोकबाट निस्केका भण्डारी सःमिलको पछाडिपट्टीको बन्द गेटबाट माथि चढी मृतक नवीन बस्ने कोठामा गएको देखिन्छ,’ पत्रकार सम्मेलनमा एसएसपी राठौरले भने ।
‘निज नवीनलाई तत्काल नदेखेपछि सोही कोठाको सोफामा बसी रहेको अवस्थामा केही क्षणपछि मृतक नवीन आई किन यहाँ बसेको भनी कुटपिट गरेपछि प्रतिवादी भण्डारीले रिस थाम्न नसकी खुकुरीले नवीनको टाउकोमा पटक पटक प्रहार गरी गरेको खुलेको छ ।’
नवीनको हत्या गर्ने क्रममा शुभद्रा भुजेलले देखेपछि भण्डारीले उनलाई समेत सोही खुकुरीले टाउकोमा प्रहार गरेको प्रतिवादीले प्रहरीसमक्ष बयान दिएका छन् । सोही समयमा पूर्ण बहादुर भुजेल घटनास्थलमा पुगी फोन गर्न लागेको जस्तो देखेपछि उनको पनि टाउकोमा नै खुकुरी प्रहार गरी हत्या गरेका थिए ।
त्यसपछि पूर्ण बहादुर भुजेलकी श्रीमती अम्बिका भुजेलको पनि सोही स्थानमा हत्या गरेको अभियुक्तले बयान दिएका छन् । ‘नवीनलाई रिसईबीको कारण प्रतिशोध साँधी हत्या गरेको भएता पनि अन्य तीन जनालाई घटना देखेका कारण सार्वजनिक गर्छन् भन्ने डरले हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आयो,’ एक प्रहरी अधिकारीले भने ।
प्रतिवादीले चारै जनाको हत्या गरे पश्चात् बाहिर मेन गेटमा ड्याङड्याङ आवाज आएको र बत्तीको लाइट समेत देखेपछि सःमिलभित्र प्रवेश गरेको पछाडीपट्टीको गेटबाट हामफाली कोटेश्वर चोक हुँदै काँडाघारी वीरेन्द्र चोक पुगेका थिए । त्यहाँ गएर उनी दिदी भिनाजुको कोठामा गई सुतेका थिए ।
शनिबार बिहान उठेर खाना खाएपछि अघिल्लो दिन जस्तै पहिला पढेको नक्सालस्थित विद्यालयमा साथीहरूसँग भेट्न गई घर आएर खाना खाएर सुतेको समेत प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । आइतबार भने प्रहरीले खोजिरहेको हुनसक्छ भनेर सिन्धुपाल्चोक गएर लुक्ने सोचका साथ हिँडेका थिए ।
तर, हुलिया मिलेपछि उनलाई नेपाल प्रहरीले पक्राउ गर्न सफल भयो । साथै घटनामा प्रयोग भएको हतियार समेत बरामद गर्न सफल भयो नेपाल प्रहरी ।
तीनकुने सामूहिक हत्या प्रकरणमा प्रहरीले यसअघि पक्राउ परेका दीपेन्द्र राईलाई भने रिहा गरेको छ । उनको हत्यामा कुनै संलग्नता नरहेको खुलेपछि रिहा गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालय एसएसपी राठौरले जानकारी दिए ।
दीपैनद्र राईले नै घटनाबारे प्रहरीलाई जानकारी दिएका थिए ।
तीनकुनेको उक्त सःमिल दोलखाको कालिञञ्चोक गाउँपालिका-८ घर भई गौशाला बस्ने बालकृष्ण शिवाकोटीको हो। उनी दोलखाका एमाले नेता समेत हुन्। हत्या गरिएको अवस्थामा भेटिएका चारै जनाको शव पोष्टमर्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ।