२४ असोज , काठमाडौ । सरकारले इजरायलबाट नेपाल फर्किन चाहने नागरिकलाई स्वदेश फर्किनका लागि नेपाल एयरलाइन्सको चार्टर विमान पठाइएको र केही सीमित नियमित उडानबाट पनि फर्किन सक्ने जनाएको छ ।
बुधवार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले २६५ विद्यार्थीमध्ये १० जनाको निधन भएको र केही सम्पर्कमा नरहेको भन्दै बाँकीलाई २५० सीटको वाइडबडी विमानबाट एकैपटक ल्याउने तयारी रहेको जानकारी दिइन् ।
उनले सरकारको पहिलो प्राथमिकतामा विद्यार्थीहरु रहेको समेत बताइन् । केयर गिभरको रुपमा गएका कामदारहरु इजरायली परिवारकै सदस्य बनेर रहेको र उनीहरु कम जोखिममा भएकाले विद्यार्थीको सुरक्षा पहिलो प्राथमिकता रहेको बताइन् ।
लम्सालले भनिन्–विद्यार्थीहरु विश्वविद्यालयबाट कोही भर्खरै गएका छन् । त्यहाँको बारेमा सबै जानकारी पनि नभएका कारण हामीले क्षति पनि भोग्यौं । केयर गिभरहरु परिवारकै रुपमा रहेका र लामो समय बसेका कारण उहाँहरुको सुरक्षा जोखिम कम छ ।
अहिले दूतावासका कर्मचारीले समेत बंकरमा बसेर काम गरिरहेको भन्दै अहिले सकेसम्म सबै शक्ति लगाएर आफ्ना नागरिकको सुरक्षामा ध्यान दिइएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार इजरायलमा विद्यार्थी र अन्य विभिन्न सेक्टरमा कार्यरत कामदारसमेतको संख्या करीव ४ हजार ५ सय रहेको छ । पहिलो उद्दारको उडानमा जोखिमक्षेत्रबाट एकै ठाउँमा राखिएका विद्यार्थीलाई ल्याइने र सम्भव भएसम्म अरुलाई पनि लिएर आउने लम्सालले बताइन् ।
इजराललयका जम्मा चार हजार पाँच सय विभिन्न क्षेत्रमा कार्यरत रहेको र २६५ जना विद्यार्थी अध्ययनरत रहेको मन्त्रालयले जनाएको छ । अध्ययनरत विद्यार्थीमा कृषि विश्वविद्यालयबाट १२१ जना, त्रिभुवन विश्वविद्यालयबाट २७ जना, र सुदूरपश्चिम विश्विद्यालयबाट ४९ जना इजरायलमा पुगेको मन्त्रालयका प्रवक्ता लम्सालले बताइन् ।
उनका अनुसार घटनामा १० जना विद्यार्थीको निधन भएको र चार जना घाईतेको उपचार जारी रहेको छ । अज्ञात अवस्थामा रहेका व्यक्तिको खोजी कार्य जारी रहेको पनि जनाइएको छ ।
मन्त्रालयका अनुसार निधन भएका १० जनाको सबै शव इजरायल सरकारको संरक्षणमा रहेको, नेपाल ल्याउनका लागि पहल भइरहेको, शव हस्तान्तरण कार्य अघि बढाउने वित्तिकै नेपाल ल्याएर सम्बन्धित परिवारलाई हस्तान्तरण गर्ने तयारी पनि भइरहेको छ ।


