२८ कात्तिक , काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का सूचना प्रविधि (आईटी) विज्ञ प्रकाश रायमाझीले टिकटक बन्द गर्ने निर्णयले दुई अर्बभन्दा बढी रकम विदेशिनबाट जोगिएको दाबी गरेका छन् ।
रायमाझीले सामाजिक सञ्जाल फेसबुकमार्फत टिकटक चलाउँदा इन्टरनेटको खर्च (व्याण्डविथ) वार्षिक दूई अर्बभन्दा बढी रकम विदेशिने गरेको जानकारी गराएका छन् । टिकटक बन्द गर्ने निर्णयले सामाजिक मात्र नभएर आर्थिक पाटोमासमेत सहयोग पुग्ने उनको भनाई छ ।
उनले लेखेका छन्, ‘नेपालमा खपत हुने कूल व्याण्डविथको २० देखि २५ प्रतिशत टिकटकले मात्रै खपत गर्ने गर्दथ्यो । हामीले प्रयोग गर्ने इन्टरनेट (व्याण्डविथ) विदेशका कम्पनीसँग किन्नु पर्दछ । टिकटक बन्द गर्ने निर्णयले दुई अर्ब भन्दा बढी रकम जोगिएको छ । अर्कोतर्फ टिकटकमा सञ्चालन भईरहेका र कानुनी दायरामा नआएका व्यापार पनि रोकिएको छ ।’










