१ पुष , काठमाडौ । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको रौनकतालाई अन्नद्वारा निर्मित सीतारामको प्रतिमाले झनै बढाएको छ ।
विश्व रेकर्ड स्थापित गर्ने उद्देश्यले जनकपुरधामको रङ्गभूमि मैदान १२ बिघामा निर्माण गरिएको ११ हजार ११ स्क्वायर फिटको यो प्रतिमालाई शनिवारबाट सर्वसाधारणको अवलोकनको लागि समेत खुल्ला गरिएको छ ।
प्रतिमाको निर्माण ११ पटक अन्नकै प्रतिमा बनाएर विश्व रेकर्ड बनाएका भारतका कलाकार सतिश गुर्जरले गरेका हुन् । गुर्जरको नेतृत्वमा ८ जना र जनकपुरका ४ गरी १२ जना कालीगढले सात दिन लगाएर उक्त प्रतिमा बनाएका हुन् । यसअघि भारतको अयोध्यामा बनेको १० हजार ८०० वर्गफिटको मूर्तिले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएको छ ।
जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठको संयोजकत्वमा निर्माण समितिद्वारा निर्मित यो प्रतिमामा भगवान सीतारामको स्वयम्वरको दृश्य र राजर्षि जनक तथा गुरु विश्वामित्रको पनि प्रतिमा बनाइएको छ । प्रतिमामा ११ प्रकारका १ सय १ क्विन्टल अन्नको प्रयोग गरिएको छ ।
यो प्रतिमा निर्माण गरेर अन्नको दुरुपयोग गरिएको भन्दै आलोचना भइरहेको समयमा प्रतिमा निर्माणमा प्रयोग गरिएको अन्न खेर नजाने प्रतिमा निर्माण समितिले जनाएको छ । प्रतिमा निर्माणमा प्रयोग गरिएका अन्न अनाथालय, वृद्धाश्रम, मानव सेवा आश्रम लगायतका स्थानमा प्रयोग गर्न सकिने कतिपयको तर्क छ ।