काठमाडौँ । वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपालचोक घर भई हाल काठमाडौँ मित्रनगर बस्ने २३ वर्षीय टिका बहादुर भण्डारी रहेको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताएका छन् । प्रहरीका अनुसार उनले टोपेन्द्र घर्ती समेत २ जनालाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति १५ लाख रुपैयाँ लाग्छ । पोर्चुगल पुगेपछि प्रतिष्ठित कृषि कम्पनीमा काम लगाइदिन्छु, मासिक १ लाख ५० हजार रुपैयाँ तलब हुन्छ भनि हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितहरुबाट पटक पटक गरी १७ लाख ६० हजार रुपैयाँ लिई सम्पर्क विहिन भएका थिए ।

रकम ठगि गरि सम्पर्क विहिन भएका उनलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा ८ गते साँझ ४ बजे काठमाडौँ मित्रनगर देखि पक्राउ गरेको थियो । पक्राउ पछि भण्डारीलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगारी विभाग ताहाचल पठाईएको प्रहरीले जनाएको छ ।