काठमाडौं: चीनबाट वीरगञ्ज आएर अनलाइन ठगीधन्दा चलाउने तीन चिनियाँ नागरिकलाई पर्सा प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी कुमोध ढुंगेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले अवैध कल सेन्टर सञ्चालन गर्ने घरमा छापा मारी अवैध धन्दा चलाउने चिनियाँ नागरिकहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ३३ वर्षीय लिलु गुई चाइ, २६ वर्षीय वाङ बोहान र ३६ वर्षीय छिङ झाव छन् ।

वीरगञ्जमा फ्ल्याट लिएर चिनियाँ नागरिकहरूले अनलाइन ठगीधन्दा चलाएको सूचना पाएपछि पर्सा प्रहरीले शनिवार साँझ छापा मारेको थियो । वीरगन्ज महानगरको वडा नम्बर १५ स्थित नन्दु पटेलको घरमा छापा मारेर नजिकैको सडकबाट २ जना र वृन्दावन होटलबाट एक जनालाई पक्राउ गरेको पर्सा जिल्ला प्रहरी प्रमुख कुमोध ढुंगेलले जानकार दिए ।

एसपी ढुंगेलकाम अनुसार वीरगन्जमा चिनियाँ नागरिकको आवतजावत बढेपछि पर्सा प्रहरीले निगरानी बढाएको थियो । शङ्कास्पद गतिविधि भइरहेको सूचनापछि ‘अप्रेसन क्लाउड’ अभियान नै सञ्चालन गरेको बताए । प्रहरीको यही अप्रेसनले चिनियाँ नागरिकलाई निगरानी गर्ने र ठगीमा संलग्न सबैलाई ‘नोटिस’ मा राखेर उठाउने नीति बनायो र सबैलाई पक्रन प्रहरी सफल भयो ।

एसपी ढुंगेलका अनुसार उनीहरूले चलाएको अवैध अफिसबाट कम्प्युटर डेक्सटप सिपियू १२० थान, मनिटर ११८ थान, मोबाइल ३५ थान, ल्यापटप ४ थान, प्रिन्टर १ थान, किबोर्ड २६ थान, इन्टरनेट स्वीच ५ थान, बाइफाई राउटर २ थान र मिनि इन्भर्टर २ थान बरामद भएको छ ।

पक्राउ परेका चिनियाँहरुले भारतीय मोबाइल सिम कार्ड प्रयोग गर्दै आएका थिए । उनीहरूबाट भारतीय जिओ सिम कार्ड १३ थान बरामद भएको एसपीले जानकारी दिए । उनले भने, ‘सामाजिक सञ्जाल र नम्बर मार्फत भारत, नेपालसहितका देशका नागरिकलाई ठगी गर्दै आएको खुलेको छ । थप अनुसन्धान हुँदैछ ।’

उनका अनुसार प्रिन्टर १ थान, विभिन्न बैंकहरूका एटिएम कार्ड ३ थान, भारतीय नम्बर प्लेट बिआर ०१ सिएक्स ५७९२ र प्र २-०३-०११ प १३६७ नम्बरको मोटरसाइकल बरामद भएको छ । बिभिन्न देशका मुद्राहरू (मलेशियन ३७ रिंगिट, नेपाली ५०० दरका ४३ हजार र कम्बोडियन ३५ सय) समेत बरामद भएको छ ।

अनलाइन ठगीधन्दा चलाएका चिनियाँको नेपाली र भारतीय नागरिकसँग समेत संलग्नता रहेको प्रहरीको अनुमान छ । एसपी ढुंगेलले पत्रकार सम्मेलनमा भने, ‘भारतीय कम्पनीको सिम कार्ड र गाडी छ । त्यो कहाँबाट कसरी आयो ? पक्राउ परेका चिनियाँ नागरिकले यताको भाषा बुझ्दैन । तर यो ठाउँमा कसरी आए ? यो सबै विषयमा अनुसन्धान गरिरहेका छौँ ।’