१४ असार, काठमाडौ । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) डा. दीपक श्रेष्ठले अनिवार्य अवकाशमा जानुअघि प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरलाई ‘नालायक’ को संज्ञा दिएका छन् ।
प्रहरी अस्पतालमा डिआइजीका दुई पद रिक्त छन् । जसमा प्राविधिकतर्फ स्वास्थ्य उपसमूहका एसएसपीद्वय श्रेष्ठ र डा. सुवास आचार्य बढुवाका दाबेदार थिए । तर गृहमन्त्री रवि लामिछाने र आईजीपी कुँवरले बढुवा गर्न नचाहँदा उनीहरु दुवै जना बिहीबार मध्यरातिबाट अनिवार्य अवकाशमा गएका छन् ।
श्रेष्ठ र आचार्य दुवै २०७५ असार १२ गते एसएसपीमा बढुवा भएका थिए । उनीहरूको बढुवा भएको भए डीआईजी बन्थे । थप पाँच वर्ष प्रहरीमै रहन्थे । प्रहरी प्रधान कार्यालयले भने उनीहरुले बढुवाका लागि गर्नु पर्ने तालिम समेत नगरेकाले बढुवा नगरीको बताउँदै आएको छ ।
बढुवा नभई घर जान बाध्य भएका एसएसपी श्रेष्ठले आईजीपी कुँवरलाई ‘नालायक सीईओ’ भन्दै नेपाल प्रहरीलाई ‘प्राइभेट कम्पनी’ बनाएको आरोप पनि लगाएका छन् ।
‘सबै नालायक छैन। अहिलेको सीईओ नालायक हो। अनि यसले सबैलाई नालायक नै देख्छ। जुन यस्को बोलि र व्यबहार बाट नै देखिन्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भेट्ने बित्तिकै जंगिने जंगली ।’
उनले आगामी दिनमा नेपाल प्रहरीमा व्यवसायिक आईजीपी आउने आशा पनि व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘त चक्म रात पछि सुनौलो बिहानी आए जस्तै यो नालायक सीईओ गएपछि राम्रो लायक व्यवहारीक व्यवसायीक आईजीपी आउला नि । अनि संगठनको उन्नति र प्रगति भएर कर्मचारीहरु को मनोबल उच्च होला भने आशा छ।’







