६ साउन , काठमाडौ । काठमाडौं महानगरपालिकाले न्यूरोडबाट डोजर हटाएको छ । न्यूरोडमा फुटपाथ विस्तारका लागि प्रयोग गर्न ल्याइएको डोजर तीनदिनपछि जुद्धशालिकबाट महानगर फिर्ता भएको हो ।
फुटपाथ विस्तार गर्न गएको डोजर फिर्ता भएपछि फुटपाथ विस्तार अलपत्र परेको छ । न्यूरोड क्षेत्रमा सडकको बायाँ साइट खनेर राखिएको छ ।
गत बुधबारदेखि फुटपाथ विस्तारको काम सुरु भएको न्यूरोडमा स्थानीयको विरोध पछि काम अवरुद्ध भएको छ । तीनदिनदेखि काम अघि बढ्न नसकेपछि सडक खन्न लगिएको डोजर आज बिहान ७ बजे स्थानीयको दबाबमा हटाइएको हो ।
शुक्रबारदेखि स्थानीयले फुटपाथको विरोध गर्दै अवरोध गरेको थियो । स्थानीयको अवरोधपछि काम अघि बढ्न सकेको थिएन । स्थानीयहरु शुक्रबार दिनभर आन्दोलनमा उत्रिएका थिएभने मेयर बालेन साहको समेत पुत्ला दहन गरेको थियो ।
साथै उनीहरु टेन्ट टाँगेर रातभर त्यही बसेका थिए । महानगरले स्थानीयसँग सहमति खोज्ने प्रयास गरेपनि सफल हुन सकेन । २२ नम्बरका वडाध्यक्ष चिनीकाजी मर्हजनपनि फुटपाथको विरोधमा उत्रिएका थिए ।
शनिबार पनि दिनभर स्थानीयले अवरोध गरेपछि काम अघि बढ्न सकेन । स्थानीयको चौतर्फी विरोधपछि महानगर आज विहानै उक्त ठाउँबाट डोजर हटाएको हो ।
३२ वटै वडाका केही वडाध्यक्षहरु र सदस्यहरु फुटपाथको विरोधमा उत्रिएका छन् । उच्च अदालत पाटनले न्यूरोडमा फुटपाथ विस्तारको काम सुरु गर्न अवरोध नगर्न अन्तरिम आदेशदिएपछि महानगरले काम सुरु गरेको थियो ।
त्यसअघि गत जेठ पहिलो साता सडक डिभिजन काठमाडौं कार्यालयले अनुमति नलिई फुटपाथ विस्तार गरेको भन्दै महानगरको सामान सडकबाट जफत गरेको थियो । साथै उक्त सडक आफ्नो क्षेत्राधिकार पर्ने भन्दै काम अघि नबढाउन निर्देशन दिएको थियो ।
महानगरले सडक डिभिजन काठमाडौं कार्यालयविरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले महानगरको पक्षमा अन्तरिम आदेश दिएको थियो ।



