२४ असोज , काठमाडौ । ललितपुरको भैंसेपाटी प्रभागमा प्रहरीकै मिलेमतोमा भएको हनि ट्रयापिङ घटनाको विषयमा छानबिन गर्न गठन भएको समितिले प्रतिवेदन बुझाएको छ ।
डिएसपी नरहरी अधिकारी नेतृत्वको समितिले बुधबार ललितपुरका प्रहरी प्रमुख एसएसपी शेखर खनाललाई प्रतिवेदन बुझाएको हो ।
स्रोतका अनुसार समितिले निलम्बित इन्स्पेक्टर बिनुकुमारी शाहीलाई फौजदारी मुद्दा नै चलाउनुपर्ने सिफारिस गरेको छ । प्रहरीकै मिलेमतोमा बलात्कार मुद्दामा फसाइदिने भन्दै पैसा असुलिएको छानबिन समितिको औँल्याएको छ ।
प्रभागमा एक जग्गा व्यापारीलाई थुनामा राखी ३० लाख असुल गरी छाडिएको थियो । एक युवतीलाई उजुरी हाल्न लगाएर यसरी पूर्व योजनाअनुसार नै पैसा असुलिएको छानबिन समितिको प्रतिवेदन छ । त्यसबापत प्रहरीले समेत लेनदेन गरेको पुष्टि भएको छ ।
साथै यो घटनामा एक एसपीको समेत शंकास्पद भूमिका देखिएको थियो । ती एसपीमाथि समेत छानबिन हुने सम्भावना रहेको ललितपुर प्रहरी स्रोत बताउँछ ।
सो घटनामा संलग्न इन्स्पेक्टर शाही यसअघि नै निलम्बनमा परिसकेकी छिन् । प्रहरीले हनि ट्रयापिङ गिरोहका नाइके ताज इस्लामसहित उनको समूहका युवतीहरु सुष्मा विक र भिमादेवी थापालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
सो समूहले विगतमा पनि प्रहरीकै मिलेमतोमा धेरैलाई फसाइसकेको खुलेको छ । निलम्बित इन्स्पेक्टर शाहीमाथि समेत आपराधिक लाभ मुद्दा दायर हुने सम्भावना देखिएको छ । यद्यपी उनी कारबाहीबाट जोगिन शक्तिकेन्द्रबाट दबाब दिइरहेकी छन् ।





