५ पुष काठमाडौ । कैलालीको जानकी गाउँपालिका–९ घर भएका २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । अनुसन्धानका लागी एकजना युवकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेद प्रकाश जोशीले बताए ।
टाउको काटेर छुट्याएको अवस्थामा स्थानीय अमरावती सामुदायिक बनमा शनिबार अर्जुनको शव भेटिएको थियो । अनुसन्धानकै क्रममा भएको भन्दै प्रहरीले पक्राउ गरेको आरोपीको नाम सार्वजनिक गरेको छैन ।
अर्जुन दास गाउँमै मजदुरी गर्थे । हत्यापछि उनको कपडा निकालेर सो कपडाले रुखमा बाँधेको अवस्थामा उनको शव भेटिएको थियो । शव बाँधेको ठाउँ नजिकै टाउको फेला परेको छ ।
हत्यापछि स्थानीय मनोज भण्डारीले पठाएको फोन संवादको अडियो मृतककी पत्नी धर्मादेवी दासको फेसबुक म्यासेन्जरमा एक युवकले पठाएका थिए । सो अडियोसँग सम्बन्धित व्यक्तिलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।



